एजेन्सी ,फागुन १८ ।
भारतको छत्तीसगढ राज्यमा आज बिहान प्रहरी र भारतीय सशस्त्र विद्रोही नक्सलाइटबीच भएको भिडन्तमा परि प्रहरी अधिकारी सहित ११ जनाको मृत्यु भएको छ ।
छत्तीसगढ र तेलङ्गना राज्यको सीमा क्षेत्रमा पर्ने एक जंगलमा सो भिडन्त भएको अनतराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ
मारिनेमा १० जना नक्सलवादी बिद्रोहि र एक जना प्रहरी अधिकारी रहेको भारतीय सन्चार माध्यमले जनाएका छन् ।
भिडन्तका क्रममा अरु केही विद्रोही घाइते पनि भएको बताइएको छ । तेलङ्गना र छत्तीसगढ राज्यको संयुक्त सुरक्षा गस्ती टोलीमाथि यी दुई राज्यको सीमा क्षेत्रमा पर्ने पुजारी कन्कर जंगलमा विद्रोहीले आक्रमण गरेका थिए ।
मारिनेमा नक्सलाइट विद्रोही समूहका एकजना उच्चस्तरीय कमाण्डर पनि परेका छन् । मारिने १० जनामा छ जना महिला लडाकू परेका बताइएको छ ।
भारतमा भूमि अधिकारको मुख्य उद्देश्य र मागराखी सन् १९६७ बाट भारतको पश्चिम बंगालको नक्सालबारी भन्ने स्थानबाट यो विद्रोह सुरु भएको मानिएको छ ।
आजसम्म यस विद्रोहमा परि कम्तीमा पनि ६ हजार नागरिकको ज्यान गइसकेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतमा यो नक्सलाइट विद्रोहलाई सुुरक्षाको प्रमुख चुनौतीका रुपमा लिन थालिएको छ । सुरुमा भारतको छत्तीसगढमा मात्र सिमीत यो विद्रोह हाल आएर अन्य भारतीय राज्यमा पनि फैलिएको बताइन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हालै दिनुभएको एक सार्वजनिक अभिव्यक्तिमा यसलाई प्रमुख सुरक्षा चुनौतीका रुपमा लिइएको बताउनुभएको छ ।