प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको शुक्रबार ६६ औं जन्मदिन परेकोले बिहानैदेखि विभिन्न कार्यक्रमसहित जन्मदिन मनाइँदै छ ।
भर्खरै प्रधानमन्त्रीमा नियुक्त भएका ओलीको जन्मदिनलाई एमालेले विशेष रुपमा लिएको छ । शुक्रबार बिहान बालुवाटारमा सुरु भएको स्थायी समिति बैठकमा एमाले नेताहरुले केक काटेर जन्मदिन मनाएका छन् । एमाले स्थायी समितिको बैठक सुरु हुनुभन्दा अघि सूर्य चिन्ह अंकित केक काटिएको थियो ।
त्यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीद्वारा पनि प्रधानमन्त्री ओलीको जन्मदिन विशेष रुपले मनाइएको छ । एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठसहितको टोलीले फुटबलको चिन्ह रहेको बर्थडे केक लगेका थिए ।
प्रधानमन्त्रीको जन्मदिनको अवसरमा भारतीय तथा चिनियाँ राजदूत बालुवाटार पुगेर शुभकामना दिनुभएको थियो ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई जन्मदिनको शुभकामना दिन चाहने कार्यकर्तालाई भने चार बजेपछि बालुवाटार बोलाइएको छ । ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुममा भएको हो ।
तस्बिर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय
