काठमाडौं ,९ फागुन । प्रा.डा गोविन्द केसीकाे नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरकफरक जन्ममिति रहेकाे पाइएकाे छ ।
जन्ममिति विवाद सार्वजनिक भएपछि बुधबार पत्रकार सम्मेलन गरेर डा. केसीले ले आफ्ना तीन जन्ममिति भएको स्वीकार गरेका छन्।
प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिमा प्रश्न उठाउँदै आन्दोलनमा रहेका केसीकै जन्ममिति फरक-फरक भेटिएपछि उनको विरोध सुरु भएको थियो। सोही विरोधलाई साम्य पार्न पत्रकार सम्मेलन गरेर डा. केसीले आफ्नो फरकफरक जन्ममिति भएको स्वीकार गरेका हुन्।
पत्रकार सम्मेलनमा केसीले सार्वजनिक गरेको विज्ञप्तिमा नागरिकताको जन्ममिति २०१३ असोज २७, एसएलसीको चारित्रिक प्रमाणपत्र २०१३ माघ २४ र सहप्राध्यापकमा बढुवाका लागि भरेको आवेदन फारममा २०१३ मंसिर २७ गते उल्लेख भएको स्वीकार गरेका हुन्।
शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा केसीले सार्वजनिक गरेको विज्ञप्तिमा भनेका छन्, ‘मेरो नागरिकता तथा शैक्षिक प्रमाणपत्रका सक्कल प्रतिहरु देखाउनु म आफ्नो कर्तव्य ठान्छु। तीमध्ये एसएलसीको चारित्रिक प्रमाणपत्रबाहेक सबै शैक्षिक प्रमाणपत्रहरुमा मेरो जन्म मिति २०१३ साल असोज २७ गते रहेको छ भने प्राविधिक त्रुटिवश एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्म मिति २०१३ माघ २४ गते हुन गएको छ।’
केसीले सहप्राध्यापकको बढुवा फारममा भने मानवीय त्रुटि भएको स्वीकार गरेका छन्। ‘मैले बढुवाका लागि भरेका आवेदनहरुमा पर्न गएको फरक जन्म मितिको कुरा छ, तिनमा मानवीय त्रुटि भएको म स्वीकार्छु’, केसीले विज्ञप्तिमा भनेका छन् , ‘साथै त्यस्ता त्रुटि नहोउन् भनेर त्यसी भरिएका आवेदनहरुलाई सम्बन्धित कार्यालयमा बुझाइएका नागरिकता र शैक्षिक प्रमाण्पत्रका प्रतिनिधिहरुसित रुजु गर्ने अभ्यास हुन्छ। यस प्रसंगमा त्यसरी रुजु गरेर सच्याउन आग्रह गरिएको भए ती त्रुटि उहिल्यै सच्चिइसक्ने थिए।’
आफ्नो शैक्षिक प्रमाण पत्रमा जन्म मिति र विभिन्न समयमा भरेका आवेदनलाई लिएर विभिन्न सञ्चार माध्यममा भ्रामक समाचार आएको भन्दै सो प्रति ध्यानाकर्षण भएको बताउनुभयो । एसएलसीको चारित्रिक प्रमाणपत्र बाहेक बाँकी सबै शैक्षिक प्रमाण पत्रमा आफ्नो जन्म एउटै रहेकाले आफुसँग एउटा मात्र नागरिकता रहेको उहाँको भनाई थियो । एसएलसीको चारित्रिक प्रमाण पत्रका कारण बढुवाका लागि दिएका आवेदनमा फरक जन्ममिति उल्लेख भएको उहाँले स्वीकार्नुभयो ।