काठमाडौं , फागुन ९ ।
गुण्डा नाइके भनेर चिनिने मनोज पुन र उनका सहयोगी सोम आले प्रहरी इन्काउन्टरमा आज बिहान मारिएका छन् ।
रुपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर पुन र उनका सहयोगी सोम आलेको मृत्यु भएको हो ।
पुनको टोलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गरेको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताउनुभयो । प्रहरीको गोली लागेर घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेल बलुको हत्या गरेको आरोपमा झण्डै डेढ वर्षदेखि उनीहरु प्रहरीको खोजी सूचीमा रहेका थिए ।
यसैबीच , प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके पुनको शव बुझ्न परिवारले अस्वीकार गरेको छ ।
पुनको शवलाई पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिए पनि परिवारका सदस्य अस्पताल आउन नमानेपछि पोस्टमार्टम हुन नसकेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन ।
पुनकी श्रीमती रुपन्देहीको देवदह नगरपालिकामा बस्दै आएकी छिन ्। पुनसँगै इन्काउन्टरमा मारिएका सोम आलेको परिवार भने भैरहवामा बस्दै आएका छन् ।