८ फागुन,काठमाडौँ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमती भएको छ । तर निर्वाचन आयोगमा उक्त नाम दर्ता गर्न नपाउने भएका छन् ।
एकता प्रारम्भिक खाकामा सोमबार राति भएको हस्ताक्षर गरेका दुईपार्टीले एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति गरी दल दर्ताको तयारी गरेपनि उक्त नाम नपाउने भएका हुन् ।
आयोगमा उक्त नामको पार्टी यसअघि नै दर्ता भएको छ । चुनावमा सहभागी भएको ऋषिराम कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी आयोगमा दर्ता भएको सार्वजनिक भएको छ । आयोगले मंसीर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ‘घन र कोदालो’ चिन्ह उपलब्ध गराएको थियो ।
आयोगले प्रतिनिधिसभा निर्वाचनमा सहभागिता लागि दल दर्ता आह्वान गर्दा नेपाल कम्युनिष्ट पार्टी २०७४ साल भदौ १० गते दर्ता गरेको थियो । स्थानीय तह निर्वाचनमा सहभागिताका लागि आयोगले दल दर्ता आह्वान गर्दा नेकपा ३९ नम्बरमा थियो ।
अब कट्टेलले सहमति दिएपछि मात्रै एमाले र माकेले नयाँ पार्टीको नाम नेकपा राख्न पाउनेछन् । उनी वैद्य र विप्लवसँग संयुक्त मोर्चामा छन् ।
आयोगमा नेकपा दर्ता भएको दल र चुनाव चिन्हसँग मिल्ने दल र चुनाव चिन्ह दर्ता नहुने कानुनी व्यवस्था छ ।