फाल्गुण ७ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेताहरुलाई प्रहरीले अनावश्यक गिरफ्तार गरेको भन्दै भोली १ दिने बन्दको घोषणा गरेको छ । बन्दको पूर्वसन्ध्यामा विभिन्न जिल्लाहरुले मसाल जुलुस निकालेका छन् ।
यता लुम्बिनीस्थित नवलपुरको गैडाकोट, कावासोती, चोरमारामा, परासीको बडेरामा रुपन्देहीको बुटवल, कपिलवस्तुको तौलिहवा, गुल्मीको तम्घास र दर्लिङ्ग, पाल्पा, अर्घाखाँचीका विभिन्न ठाउँबाट मसाल जुलुस निकालिएको छ । यता कपिलवस्तुमा निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दै पार्टी सचिवालय सदस्य सन्तोष परिवार लगायत ५ जनालाई गिरफ्तार गरेको नेकपा कपिलवस्तुले जानकारी दिएको छ ।
६ गते युवा संगठनको सम्मेलनको तयारीमा प्रहरीले हस्तक्षेप गर्दै आफ्ना पार्टीका सयौं नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेर छोडेपनि पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली र पार्टी पोलिट्व्यूरो सदस्य पदम राईलाई अझै नछोडेको कारण आफ्ना नेताहरुको रिहाईको माग राख्दै नेकपाले बन्दको आव्हान गरेको हो ।
पार्टीका महासचिव विप्लवद्धारा हस्ताक्षरीत विज्ञप्तीमा ओली सरकारले आफ्ना नेता कार्यकर्ताहरुलाई तत्कालै रिहाई नगरे संघर्ष कडा हुने चेतावनी दिदैं ८ गते १ दिने बन्दको आव्हान गरेका छन् ।
एम्बुलेन्स, पत्रकार दुधका गाडी लगायतका अत्यावश्यक गाडीबाहेक सबै पूर्ण रुपमा बन्द रहने नेकपा लुम्बिनी व्यूरोले जनाएको छ ।-एनखबरबाट