काठमाडौ ७ फागुन ।
भोली नेपाल बन्दको आह्वान गरेको नेपाल कम्युनिस्ट पार्टीले आज साँझ देशभर मसाल जुलुस निकाल्ने भएको छ ।
शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पोलिट्ब्युरो सदस्य पदम राईसहित २ सय नेता(कार्यकर्ताको गिरफ्तारीविरुद्ध नेकपाले भोलि नेपाल बन्द आह्वान गरेको हो
सोहि बन्दको पूर्वसन्ध्यामा काठमाण्डौ उपत्यका सहित देशैभर जिल्लाहरुमा आज साझ आ आफ्नो अनुकलतामा मसाल जुलुस निकाल्ने तयारी गरिएको नेकपाले जनाएको छ ।
नेकपाको युवा जनवर्गीय संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको तेस्रो अधिवेशनमा प्रहरीले हस्तक्षेप गर्नुका साथै कार्यक्रममा सहभागीताका लागी जाँदै गरेका नेताहरुलाई बाटोबाटै गिरफ्तार गरेको थियो ।
नेकपाले भोलीको नेपाल बन्द आक्रामक हुने बताएको छ ।
पार्टीका प्रवत्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डले भोलिको बन्दमा साथ र सहयोग गर्न आम जनसमुदायलाई अपिल गर्नुभएके छ । उहाँले गिरफ्तारमा परेका आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहाइ नगरिए कडा प्रतिकारमा उत्रने चेतावनी समेत दिनुभएको छ ।
उहाँले पार्टीको शान्तीपुर्ण कार्यक्रम माथिको हस्तक्षेप तथा गिरफ्तारीले पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी चरित्रलाई उदांगो पारेको भन्दै त्यसका बिरुद्ध डटेर प्रतिरोधमा उत्रने बताउनु भयो ।
एमाले अध्यक्ष ओली सरकारको नेतृत्वमा आएलगत्तै केन्द्रिय नेतासहित ठुलो सङख्यामा नेकपाका कार्यकर्ता गिरफ्तार गरेको भन्दै उहाँले दमनकारी नीति नरोके तथा आफ्ना नेताहरुलाई निसर्त रिहा नगरे ओली सरकारको दिनगन्ती शुरु हुने समेत चेतावनी दिनुभयो ।
यसअघि हिजो महासचिव विप्लवले पनि विज्ञप्ती निकाले गिरफ्तार गरिएका नेता कार्यकर्तालाई तत्काल रिहाइ नगरिए ओली सरकारले नराम्रो मुल्य चुकाउनुपर्ने चेतावनी दिदैँ अन्यथा सरकारको हस्तक्षेपकारी दमन बिरुद्ध जनता सडकमा उत्रने र त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनु पर्ने बताउनु भएको थियो ।
नेकपाले केपी ओली नेतृत्वको सरकारको दमनविरुद्ध नेपाल बन्द आयोजना गरेको हो । बन्दमा पनि दमन गरिए प्रतिरोध गर्ने नेकपाको चेतावनी छ ।