काठमाडौं, फागुन ५ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २१ लगनटोलमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुईवटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
मृत्यु हुनेमा प्यारालाइसिसको समस्याबाट पीडित भएका ६७ वर्षीय जीवन काजी श्रेष्ठ रहेका छन् । उनलाई बचाउन जाँदा उनका छोरा ४२ वर्षीय प्रविण श्रेष्ठ समेत आगोले जलेर घाइते भएका छन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।
लगनटोलस्थित स्थानीय अमृत रञ्जीतको घरबाट सुरु भएको आगो फैलिएर छिमेकी अष्टनारायण महर्जनको घरमा समेत क्षति पुगेको हो । रञ्जितको पूरै घर भाडामा लिएर जीवनकाजी श्रेष्ठको परिवार बस्दै आएको थियो ।
आज विहान करिब पौने ४ बजेतिर रञ्जीतको घरमा आगलागी भएपछि काठमाडौं, ललितपुर र भक्तपुरका दमकल तथा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा करिब २ घण्टा पछि आगो नियन्त्रण मा लिएको हो ।
हिटरबाट आगो सल्किएको आशंका गरिए पनि घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।आगलागी भएको सो घरमा पटक पटक गरि दुइ वटा ग्यास सिलिन्डर बिस्पोट भएको थियो । बाक्लो बस्ती र साँघुरा गल्लीमा काठमाडौँ जुद्दा बारुण यन्त्र ,पाटन,भक्तपुर बारुण यन्त्र जनपथ ,शसस्त्र प्रहरी र हनुमानढोका स्थित रण भैरब गणका नेपाली सेनाको ३ घण्टाको प्रयासले आगो नियन्त्रणमा आएको छ । घटना स्थानमा खटिएका जनसेवा प्रहरी प्रभागका प्रमुख टेकुनन्द ईवा लिम्बुले जीवनकाजीको शव बडो मुस्किलले फेला पार्न सकेको बताउनुभयो । आगलागीको कारण तथा क्षेतीको विवरण आउन बाकि रहेको छ ।