काठमाडौं, फागुन १६ ।
बौद्ध महायानी धर्मावलम्वीहरुले आज ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होमो लगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् ।
सोनाम कृषि ल्होथो अर्थात पात्रोअनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको छ । सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि केही तामाङ समुदायले आफूहरुको तिथी र पात्रोअनुसार नमिलेको भन्दै मनाएका थिएनन् ।
सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होछार धुमधामका साथ मनाउँदैछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि माघ ४ गते पनि सरकारले सार्वजनिक विदा दिएको थियो ।
ल्होछार मान्ने समुदायले आजबाट चरा वर्षको विदाइ गरी कुकुर वर्षलाई स्वागत गरेका छन् । हरेक वर्ष जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यताअनुसार यो वर्ष चरा वर्षको विदाइ गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम ल्होछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले जानकारी दिनु भयो ।
यस्तै सोनाम ल्होछार २८५४ को अवसरमा तामाङ समुदायमा रौनक छाएको छ । यसै अवसरमा राजधानीको तिनकुनेमा आज र भोली सांस्कृतिक महोत्सव समेत हुँदै छ । महोत्सवको आज दिउँसो २ बजे प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने कार्यक्रम रहेका छ ।
ल्होछार मूल समारोह समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेका अनुसार औपचारिक कार्यक्रम शुरु हुनु अघि काठमाडौंको सिनामंगल, नयाँ बानेश्वर र ललितपुरको बालकुमारीबाट साँस्कृतिक झाँकीसहितर्को याली निकालिँदैछ ।
यसैबीच ग्याल्बो र सोनाम ल्होसारको अवसरमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलेसम्पूर्ण शेर्पा र तामाङ समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजाति, बहुसाँस्कृतिक र बहुभाषिक देश भएको उल्लेख गर्नुभएको छ । यस प्रकारका मौलिक विविधतालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको प्रतिकको संज्ञा दिनुभएको छ ।
शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि देशमा आधारभुत रुपमा संक्रमणकाल सकिएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्र, राष्ट्रियता, स्वभिमान, शान्ति र लोकतन्त्रप्रति सरकार प्रतिवद्ध रहेको जनाउनु भएको छ ।