लहान, २७ माघ ।
सिरहा नगरपालिकाकी एक बालिका बलात्कृत भएकी छन् । घर नजिकै रहेको गोठमा वस्तुभाउलाई पराल हाल्न गएकी ११ वर्षीया बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन् । बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा बालिकालाई उपचारका लागि लहानस्थित अस्पतालमा भर्ना गरिएको छ ।
घटनालाई स्थानीयस्तरमै मिलापत्र गर्ने प्रयास भए पनि बालिकाको रक्तश्राव नरोकिएपछि घटना तीन दिनपछि आज सार्वजनिक भएको हो । उपचारमा रहेकी बालिकाको कुरुवा बसेका आफन्तले भने, “बोल्नसमेत अप्ठ्यारो छ, चिकित्कसकले पनि नबोल्न भनेका छन् ।” पीडित परिवारका अनुसार आरोपी युवकले मदिरा सेवन गरेर बलात्कार गरेका हुन् ।
आरोपी ठाकुर फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो । फरार अभियुक्त ठाकुरविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।
घटनाको सूचना पाएलगत्तै आरोपी ठाकुरलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ भने अभियुक्तलाई भगाएको आंशकामा बाबु र दाजुलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।