काठमाडौ २५ माघ ।
देशका बिभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत चितवनको गाईघाटमा दुध बोकेको ट्याङकर त्रिशली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका २९ गाईघाटमा कन्टेनरसँग ठोक्किएर दुध बोक्ने ट्याङकर त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मृतयु हुनेमा टयांकर चालक नवलपरासी कोल्हुवाका सन्तबहादुर कुमाल र सहचालक लिला बहादुर कुमाल रहेका छन् । नारायणगढबाट काठमाडौं तर्फ आउदै गरेको बा ४ ख ६९५३ नम्बरको दुध बोक्ने ट्याङकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग कोक्किएर दुर्घटना भएको हो ।
सडकबाट नदीमा खसेको ट्यांकरको थोरै भाग मात्र देखिएको थियो भने ठोकिएको ट्रक भने सडकको कुनातर्फको नालिमा खसेको थयो । शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै पूर्व–पश्चिम राजमार्गअन्र्तगत कञ्चनपुरको झलारी–बाणी सडक खण्डको बनहरा पुलमा जिपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ ।
धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको बा १३ च ३९०४ नम्बरको जिपले ठक्कर दिँदा पैदल हिडिरहेकी शुक्लाफाँटा नगरपालिका–१ की २० बर्षिया हजारी विकको घटनास्थलमै मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणी भट्टले चालक र जिप प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिनुभयो ।
यता काठमाडौंको सिनामंगलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको इटहरी निवासी १९ वर्षीय रबिना ओझा रहेकी छन् ।
आज बिहान बा २ ख ५४२१ नम्बरको बसले बा ८० प ३७८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते उनको केएमसी अस्पताल, सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।