काठमाडौं माघ २४, ।
नेकपा एमालेले मुख्यमन्त्रीका आकांक्षी धेरै भएपछि प्रदेश नं ३ को मुख्यमन्त्री निर्वाचनबाट चुन्ने भएको छ ।
प्रदेश कमिटीको आज बसेको बैठकले संसदीय दलको नेतामा धेरैको दाबी परेपछि मतदानबाटै टुङ्गोमा पुग्ने निर्णय गरेको हो ।
सहमतिका लागि अन्तिम समयसम्म पहल गर्ने र नभए आगामी शुक्रबार बिहान ८ बजे संसदीय दलको नेता चयन गर्ने बैठकले निर्णय गरेको छ ।
एमाले स्थायी समिति बैठकले यसअघि नै संसदीय दलको नेता चुन्ने जिम्मेवारी प्रदेश कमिटीलाई दिने निर्णय गरिसकेको छ ।
आगामी शुक्रबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा निर्वाचन हुने प्रदेश नं ३ का सासंद अरुण नेपालले जानकारी दिनुभयो ।
प्रदेश नं ३ को मुख्यमन्त्रीमा प्रदेश इन्चार्ज एवं पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पूर्वमन्त्री राजेन्द्र पाण्डे, पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित लगायतले दाबी गर्नु भएको छ ।