एजेन्सी २२ माघ ।
आगामी निर्वाचनमा असर पर्न सक्ने भन्दै सत्तारुढ दलले दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमालाई राजिनामा दिन दबाब दिएको छ ।
हालको पद बाँडफाँट तथा शक्ति संघर्षका कारण निर्वाचनका बेला पार्टीमा विभाजन आउनसक्ने भन्दै सत्तारुढ दलका शीर्ष नेताहरुले त्यसलाई रोक्न जुमाले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् ।
सत्तारूढ दल एएनसीका वरिष्ठ नेतासँग भएको वार्तापछि जुमाले राजिनामा दिन अस्वीकार गरे सत्तारुढ दलले संसद्मा संकल्प प्रस्ताव लगेर हटाउने प्रक्रिया थाल्ने संकेत गरेको बीबीसीले उल्लेख गरेको छ । यसबारे छलफल गर्न सत्तारुढ दलले आज आकस्मिक बैठक पनि बोलाएको छ ।
भ्रष्टाचारको आरोप खेपिरहेका जुमालाई पार्टीको अध्यक्षमा भने सिरिल रामाफोसाले गत डिसेम्बरमै प्रतिस्थापन गरिसकेका छन् । राष्ट्रपति जुमाले आफूमाथिका सबै आरोप आधारहिन भएको भन्दै निर्दोष भएको दाबी गर्दै आएका छन् ।