काठमाडौं, माघ १८ ।
पार्टी एकता प्रक्रियाबारे छलफल गर्न बाम एकता संयोजन समितिको बैठक आज बस्दैछ । समितिको बैठक सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा अपरान्ह ३ बजे बस्दैछ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा साझा उम्मेदवारीसँगै प्रादेशिक सरकारमा ७०÷३० को भागबण्डा गरेका एमाले र माओवादी केन्द्रले आजबाट एकीकरण प्रक्रियाबारे छलफल गर्न लागेका हुन् ।
आजको बैठकमा पार्टी एकता प्रक्रियाबारे ठोस छलफल हुने एकता संयोजन समितिका सदस्य एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बाम एकताबारे लामो समयदेखि छलफल भएपनि नेताहरुको पदिय जिम्मेवारीको बाँडफाँड तथा पार्टीको आगामी सिद्धान्तबारे छलफल भएको छैन ।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकले सरकारको नेतृत्व गरे अर्कोले पार्टी चलाउने भनिएपनि ठोस सहमति हुन सकेको छैन ।
एकता प्रक्रियामा दोस्रो तहका नेताको व्यवस्थापन गर्न पनि समस्या भएको छ । यद्यपी माओवादी केन्द्रका नेता एवं कार्यदल सदस्य श्रेष्ठले पार्टी एकता अब कुनैपनि बहानामा नरोकिने बताउनुभयो ।
पार्टीको आगामी सिद्धान्त र कार्य दिशा तथा पदीय बाँडफाँडबारे आजबाट छलफल शुरु गरिने र छिट्टै निश्कर्षमा पुगिने बताउनुभयो ।