१० माघ,काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘धेरै पढेपछि मान्छेको दिमाग बिग्रिन्छ’ भनेको अभिव्यक्ति निकै विवादित बन्यो ।
सामाजिक संजालदेखि र मिडियासम्म चर्को अालोचना भइरहेको छ । सामाजिक संजालहरुमा वरिष्ठदेखि सामान्य नागरिकले पनि प्रचण्डको अभिव्यक्तिको विरोध गरेका छन् । उनीहरुले प्रचण्डले पार्टी कार्यकर्ताहरुलाई दास, गुलामी र चाकरीबाज बनाउन खोजेको अारोप लगाएका छन् ।
केही पहिले केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पार्टी निकट कलाकारहरुलाई प्रशिक्षण दिने क्रममा प्रचण्डले ‘धेरै पढेपछि मान्छेकाे दिमाग बिग्रिन्छ’ भनेका थिए । हल बाहिर अाउन नपाउँदै केही कलाकारहरुले उक्त भिडियो नै फेसबुकमा पोष्ट गरेका थिए । बैठकमा भनेको कुरा सार्वजनिक भएसँगै सामाजिक संजालहरुमा प्रचण्डको अालोचना भएको हो ।
विशेषगरी दुई जनाको कमेन्टले निकै चर्चा पाए । माओवादी केन्द्रका पूर्व केन्द्रीय सल्लाहकार तथा वरिष्ठ पत्रकार नरेन्द्रजंग पीटर र वाम बुद्धिजिवी खगेन्द्र संग्रौलाको प्रतिक्रिया मिडियाको लागि मसला नै बने ।
संग्रौलाले धेरै पढेकाहरुलाई ‘पागलहरु’ भनेको बताउँदै प्रचण्डले धेरै पढेकाजतिलाघ ठिँगुरा ठोक्न पार्टीमा लाटागाँडाहरु खटाउन सक्ने प्रतिक्रिया दिएका छन् ।
यस्तो छ संग्रौलातको स्टाटसः गठेवामकाे एक घटकका शिखर पुरूषकाे अति माैलिक अमृत वचन-“धेरै पढेपछि मान्छेकाे दिमाग बिग्रिन्छ।” माके एमालेमा घुलित भएर गठेवामकाे सरकार बनेपछि विरल तत्वज्ञानी यी ब्राेले धेरै पढेकाजतिलाई ठिँगुरा ठाेक्न पार्टीका “लाटागाँडा”हरूलाई खटाउन बेर छैन। अाहाहा! धेरै पढेका “पागलहरू” हाेसियार!

त्यसैगरी पीटरले त प्रचण्डलाई श्री भन्दै अभिव्यक्तिक निन्दा गरेका छन् । प्रचण्डले कार्यकर्तालाई शक्तिको वरिपरी लुटपुटिन विवेकलाई शक्तिसामु दास बनाउने,चाकरी गर्ने बनाउन चाहेको भन्दै यसो लेखेका छन् ।
यस्तो पीटरको स्टाटसः जुन समय, सन्दर्भ र सन्देश भएपनि श्री प्रचण्डका ‘धैरै पढेपछि मान्छेको दिमाग बिग्रिन्छ’ भन्ने अभिब्यक्ति ठिक हैन र छैन्, निन्दनिय छ । तर, त्यसको अर्को पाटो पनि नियालौँ (शक्तिको वरीपरी लुटपुटिन विवेकलाई शक्तिसामु दास बनाउने, चाकरीमा सिद्दहस्त, नीजि स्वार्थ पूरा नभएपछि घुर्की, धम्की दिने त्यसपछि सम्बन्ध बिच्चेद गर्दै गाली महात्म्य रच्ने नेपाली बौद्धिकहरूको आर्दश हबिगतको नाडी पनि उनले युद्ध र शान्तिकालमा राम्रैसँग छामेर यस्तो भन्न सकेका हुँन् । लिलामीमा रहेका बुद्धिका टाउकाका नसा गनेकाहरूलाई यस्तो भन्न सक्ने हैसियतमा आलोचनात्मक चेतरहित बौद्धिक तप्काले नै पुर्याएका हुँन ।
