काठमाडौं, माघ १० ।
काठमाडौं उपत्यकामा अहिले पानी परिरहेको छ । यो वर्षको हिउँद लागेपछि पहिलो पटक जमिन भिज्ने गरी पानी पर्न लागेको मौसमविदले बताएका छन् ।
सामान्यतया हिउँदको सुरुवाती महिनामा नै पानी पर्ने भएपनि यसपाली ढिलो गरी वर्षा भएको छ । आज पश्चिमी क्षेत्रमा भने जमिन भिज्ने गरी पानी पर्ने अनुमान रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो ।
यसअघि काठमाडौं र पश्चिमका केही क्षेत्रमा फाट्टफुट्ट पानी परेको थियो । मौसमविद कँडेलका अनुसार आज देशभरीकै मौसम बदली भएको छ । यसले गर्दा देशका धेरै ठाउँमा पानी पर्नेछ ।
आज दिनभरी र रातिसम्म काठमाडौं उपत्यकासहित मध्य क्षेत्र तथा पश्चिमी क्षेत्र र राति पछि पूर्वी क्षेत्रमा प्रभाव पर्ने सम्भावना रहेको मौसमविद कँडेलले जानकारी दिनुभयो ।
सुदूरपश्चिमबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रँदा देशभरीकै मौसम बद्ली भई पानी परेको हो । यो प्रणालीका कारण हिमाली जिल्लामा हिमपात भएको छ । डडेल्धुरालगायत प्रदेश नम्बर ७ का पहाडी जिल्लाहरुमा हिमपात भएको हो ।
७ नम्बर प्रदेशका बैतडी, बझाङ, डोटी, बाजुरा, दार्चुला लगायतका जिल्लाका उच्च भेगमा हिमपात भएसँगै अत्यधिक चिसो बढेको छ । गएराति पानी परेसँगै बिहानदेखि हिमपात सुरु भएको हो ।
डडेल्धुरा सदरमुकाममा आज बिहान ५ बजेदेखि हिमपात सुरु भएको छ । उच्च लेकाली भागमा रातिदेखि नै हिमपात जारी छ । भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन सञ्चालनमा कठिनाई आएको छ ।
हिउँ जमेको र जाडो बढ्न थालेकाले घर बाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् । एक्कासी बढेको चिसोका कारण वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।
लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले धेरै राहत र्पुयाएको छ । बाक्लो हिउँले गाउँघर सेताम्य बनेपछि किसानहरु बालिनाली सप्रिने भएकाले खुसी भएका छन् ।