काठमाडौँ, ६ माघ ।
वाग्मती सफाइ महाअभियानको २४५ औँ हप्तामा आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता माला खरेलले जानकारी दिनुभयो ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको २०६ औँ हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर निकालिएको थियो । वाग्मती प्रदूषण भएकाले आज पनि सो क्षेत्रको नदी किनारमा असली जातका माछा मरेको फेला परेका छन् ।
वाग्मतीको तिलगंगा क्षेत्रको १५१ औँ हप्ताको सफाइका क्रममा आँखा अस्पताल वरपर जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरी घर र पसलबाट निस्किएको फोहर नदीमा नफाल्न आग्रह गरिएको अभियन्ता आशा पाण्डेले बताउनुभयो । अर्को हप्तादेखि नदीमा फोहर फाल्नेलाई कारबाही गरिने उहाँले बताउनु भयो ।
रुद्रमती सफाइको २०० औँ हप्तामा रातोपुल–ज्ञानेश्वर–कमलपोखरी –डिल्लीबजार–शास्त्रीमार्ग हुँदै मैतीदेवी मन्दिरसम्म जनचेतनामूलक ¥यालीसहित सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । सफाइका क्रममा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
चक्रपथको सफाइको ४१ औँ हप्तामा अस्पतालदेखि उत्तर पश्चिम सुकेधारा चोकसम्म सफाइ गरी १५ मेट्रिक टन फोहर व्यावस्थापन गरिएको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।
उता , आलोकनगर सफाइको ४१ औँ हप्तामा मीनभवन क्षेत्रको घर दैलो सफाइ गर्दै जनचेतनामूलक ¥यालीसहित वाग्मती मनहरा दोभानमा सहभागिता जनाइएको अभियन्ता प्रमिला पौडेलले जानकारी दिनुभयो ।
चक्रपथको बाफलखण्ड सफाइको २३ औँ हप्तामा स्यूचाटारदेखि सीतापाइलाचोकसम्म सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको संयोजक ताराबहादुर कुँवरले बताउनुभयो ।
विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले हाल देशव्यापी जागरणको अभियान लिएको छ । जागरणस्वरुप देशका ४५ भन्दा बढी स्थानमा नदी, शहर र बजार सफाइ अभियान शुरु भएको छ ।
यसैबीच वाग्मती सफाइ महाअभियानले २४५ हप्ता पार गरे पनि नदीको मुहानस्थलमै ढल हाल्ने क्रम भने अझै रोकिएको छैन ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र रहेका पाँचवटा बस्तीको ढल नदीमा मिसाउने गरिएको छ ।
वाग्मती गोकर्णेश्वर नगरपालिका–१ मा रहेका वस्तीहरुबाट मिसाईने ढलका कारण उपत्यकामा ल्याइएको पानीको मुहान पनि फोहर बन्ने गरेको छ ।
नगरपालिका–१ मा निर्वा्चित अध्यक्ष राम मानन्धरले नदी र पानीको मुहान सफा राख्न ती बस्तीलाई नै सार्न पर्ने अवस्था रहेको बताउनु भयो ।
सुन्दरीजल क्षेत्रदेखि नदी किनारको दायाँबायाँ फाँटमा स्थापना गरिएका सुँगुर र बंगुरपालनका कारण नदीमा फोहर मिसिएको छ । फार्मको फोहर नदीमा पठाउन सजिलो हुने गरी फार्म खोलिएको प्रष्ट देखिए पनि अधिकार सम्पन्न वाग्मती समितिले अनुगमन गर्न सकेको छैन ।