टोकियो, ५ माघ ।
जापानको एक परिवारले आफ्ना आफन्तजनलाई उत्तर कोरियाले अपहरण गरेको दाबी गर्दै त्यसका विरुद्ध अदालत जाने बताएको छ ।
टोकियोमा आज पत्रकार सम्मेलन गरी जापानी परिवारले अपहरण गर्नेको खोजी गर्न र उत्तर कोरियाली नेतालगायत अपहरणका समर्थक समूहलाई सजायको माग गर्दै अन्तरराष्ट्रिय फौजदारी अदालत जाने बताइएको हो ।
आगामी हप्ता फौजदारी अदालतमा मुद्दा दायर गर्ने जानकारी दिएको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
जापानी भाषा र संस्कृति जबरजस्ती सिकाउन खोजेको आरोप लगाउँदै सन् १९७० देखि १९८० सम्म १३ जना जापानीजलाई उत्तर कोरियाले अपहरण गरेको उनीहरुको दाबी रही आएको छ ।
अपहरणमा परेका ती जापानी नागरिकमा पाँचजना जापान फर्किएका छन् भने आठ जनाको यसअघि नै मृत्यु भएको जनाइएको थियो ।
टोकियोका अनुसार कम्तीमा १७ व्यक्ति उत्तर कोरियामा अपहरणमा परेका थिए । तर आफन्तजनले भने कम्तीमा पनि ४७० जना जापानी हराएका अर्थात उत्तर कोरियामा रहेका छन् ।