हिमाली क्षेत्रमा मूल्य बढ्यो

हिमाली क्षेत्रमा मूल्य बढ्यो

  • बिहिबार, माघ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौँ, ४ माघ।

काठमाडौँ उपत्यकामा भन्दा हिमाली क्षेत्रमा बढी मूल्य वृद्धि भएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको मुलुकको आर्थिक विवरणअनुसार हिमाली क्षेत्रमा ५.५ प्रतिशत (उपभोक्ता मुद्रास्फीति) को दरले मूल्य वृद्धि भएको छ ।

बैंकका अनुसार पहाडमा ४.८ प्रतिशतले मूल्य वृद्धि हुँदा तराई क्षेत्रमा ४.३ प्रतिशत र काठमाडौँ उपत्यकामा ३.४ प्रतिशतले मात्रै मूल्य वृद्धि भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ३.७ प्रतिशत, पहाडमा ५.६ प्रतिशत, तराईमा ३.७ प्रतिशत र काठमाडौँ उपत्यकामा २.५ प्रतिशत रहेको थियो ।

नेपाल आयल निगमले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा महँगीको मात्रा बढेको हो । यस्तै निर्माण सामग्रीको मूल्यमा भएको वृद्धिका कारण पनि उपभोक्ता मुद्रास्फीति बढेको हो । बैंककाअनुसार गत मंसिरमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो । भारतमा बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२ प्रतिशत रहेको छ । दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर एक प्रतिशत छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ३.८ प्रतिशत र ३.४ प्रतिशत रहेकाले दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ०.४ प्रतिशत रहेको थियो । यसबाट पनि उपभोक्तामा प्रभाव परेको हो ।

विप्रेषण घट्दा मुलुक शोधनान्तर घाटामा

बैंककाअनुसार चालू आवको पाँच महिनामा ०.८ प्रतिशतले विप्रेषण आप्रवाहमा कमी आएको छ । उक्त परिमाणमा विप्रेषण आप्रवाह घट्दा विप्रेषण रु दुई खर्ब ८५ अर्ब ४८ करोडमा सीमित भएको छ ।

गत वर्ष सो अवधिमा सबैभन्दा बढी विप्रेषण आप्रवाह भएको थियो । विप्रेषण आप्रवाहमा कमी आएपछि खुद ट्रान्सफर आय ०.२ प्रतिशतले घटेर रु तीन खर्ब ३१ अर्बमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५.२ प्रतिशतले बढेको थियो ।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २.५ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा उल्लेख्य कमी आएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा कूल एक लाख ५९ हजार ४३१ जना नेपाली विदेश गएका थिए भने चालू आवको पाँच महिनामा एक लाख ५५ हजार ३८१ जना विदेश गएका छन् । गत आवमा ३१ हजार ८७७ जना नेपाली मलेसिया गएका थिए भने चालू आवको पाँच महिनामा ४९ हजार ५७ जना गएका छन् ।

गत वर्ष कतार जाने नेपालीको संख्या ५२ हजार १८८ रहेको थियो भने चालू आवको पाँच महिनामा ३९ हजार ५९३ जना मात्रै गएका छन् । गत वर्ष संयुक्त अरब इमिरेट्स जाने नेपालीको संख्या २२ हजार ५०९ जना रहेकामा चालू आवको पाँच महिनामा २६ हजार ९९९ जनामात्रै गएका छन् ।

गत आवको पाँच महिनामा एक हजार ३९५ नेपाली जापान गएका थिए भने चालू आवको पाँच महिनामा ३२० जना मात्रै गएका छन् । गत आवको पाँच महिनामा ६५ नेपाली लेवनान गएका थिए भने चालू आवको सोही अवधिमा तीनजना मात्रै गएका छन् ।

अघिल्लो वर्षको पाँच महिनामा रु तीन अर्ब ४९ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा रु ४१ अर्ब ९५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको पाँच महिनामा रु २८ अर्ब ७८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु नौ अर्ब २७ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु आठ अर्ब ८६ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु ११ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु पाँच अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब ८४ करोड रहेको बैंकले जनाएको छ ।

विदेशी विनिमय सञ्चिति बढ्यो

बैंकका अनुसार गत मंसिरसम्म कूल विदेशी सञ्चिति रु १० खर्ब ८५ अर्ब ७४ करोड रहेको छ । विसं २०७४ असार मसान्तमा उक्त सञ्चिति रकम रु १० खर्ब ७९ अर्ब ५२ करोड रहेकामा चालू आवको पाँच महिनामा ०.६ प्रतिशतले बढेर रु १० खर्ब ८५ अर्ब ७४ करोड पुगेको हो ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु नौ खर्ब २७ अर्ब २७ करोडको तुलनामा २०७४ मंसिर मसान्तमा १.२ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ३८ अर्ब सात करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु एक खर्ब ५२ अर्ब २६ करोड रहेकामा २०७४ मंसिर मसान्तमा तीन प्रतिशतले कमी आई रु एक खर्ब ४७ अर्ब ६८ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत छ ।

सञ्चिति पर्याप्तता सूचकहरू आव २०७४÷७५ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.८ महिनाको वस्तु आयात र ११ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी