भूकम्पीय जोखिमबाट बच्न भवनसंहिता पालना गरौँः प्रधानमन्त्री देउवा

भूकम्पीय जोखिमबाट बच्न भवनसंहिता पालना गरौँः प्रधानमन्त्री देउवा

  • मङ्लबार, माघ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, २ माघ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न आह्वान गर्नुभएको छ ।

बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उहाँले विगतका भूकम्पका बेला कमजोर भौतिक संरचनाकै कारण क्षति भएकाले संहिता पालना गरेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबैमा अनुरोध गर्नुभयो ।
प्रधानमन्त्री देउवाले “विपद् जोखिम न्यूनीकराण नीति छिट्टै पारित गरी कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ, यससम्बन्धी ऐन २०७४ बनिसकेकाले सुरक्षित निर्माण संस्कृतितर्फ लाग्नुपर्छ,” भन्नुभयो ।

मूल समारोह समितिका अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले दीर्घकालीन रुपमै जोखिम कम गर्ने नीति सरकारले लिएको बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेकामध्ये ८८ हजार घर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

“दुई लाख ४५ हजार घर पुनःनिर्माण भइरहेको जानकारी दिदै उहाँले भूकम्पपीडितले घर बनाउन स्थानीय तहले एक हप्तामा नक्सा पास निःशुल्क गर्ने व्यवस्था गरिएको बताउनु भयो ।

घर बनाउन नसक्ने ७५ वर्ष नाघेका वृद्ध÷वृद्धा, ६० वर्ष नाघेका एकल महिलाको लगत संकलन भइरहेको प्राधिकरणले जनाएको छ । अशक्तको आवास पुनःनिर्माणका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको प्रमुख कार्यकारी अधिकृत भुसालले जानकारी दिनुभयो ।

प्राधिकरणले यसै आर्थिक वर्षदेखि धरहरा पुनःनिर्माण गर्ने तयारी गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शहरका चोक एवं गल्लीभित्र अहिले पनि टेको लगाएका घर रहेकाले बाटो हिँड्दा डर लाग्ने अवस्था रहेको बताउनुभयो । काठमाडौँलाई ऐतिहासिक र सांस्कृतिक शहर पुनःस्थापना गर्ने क्रममा निजी संरचना निर्माणका लागि केही सहुलियत दिए सहज हुने प्रमुख शाक्यले बताउनुभयो ।

मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरि शर्मा र मूल समारोह समितिका सदस्यसचिव एवं भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका महासचिव आमोदमणि दीक्षितले विपद्पूर्वको तयारीका लागि जनचेतना जगाइनुपर्नेमा जोड दिनुभयो ।

विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ आज देशभर विविध कार्यक्रम गरी दिवस मनाइयो । यसअघि नयाँ सडकको जुद्ध सालिक अघिबाट जनचेतनामूलक भूकम्पीय सुरक्षा पदयात्रा निकालिएको थियो ।

दिवस मनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो । ७५३ वटै स्थानीय तहलाई पनि जनचेतनामूलक कार्यक्रम गर्न जिल्ला प्रशासनले नै समन्वय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ