काठमाडौं, पुस ३० ।
उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको काम दुई वर्षमा सक्न निर्देशन दिएका छन् ।
उर्जा सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्ष्भित्र निर्माण सक्न समय तालिका बनाई त्यही अनुसार सबै काम अगाडि बढाउन निर्देशन दिनु भएको हो ।
सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले आयोजनाको स्थगलत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीहरु क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोसँग छलफल गर्नुभएको थियो ।
सन् २०१७ जुनमा निर्माण सक्ने गरी सुरु गरिएको आयोजनाको काम अहिलेसम्म ४० प्रतिशत मात्रै सम्पन्न भएको छ ।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा सचिव उपाध्यायले स्थलगत निरीक्षणबाट आयोजनाको काम ठेक्का सम्झौता अनुसार हुन नसकेको बताउनुभयो ।
आयोजनाको बाँध स्थल, सुरुङ, विद्युतगृहलगायत सबैतिर काम भइरहेको छ । बाँध स्थल खन्न सुरु भएको छ भने विद्युतगृह रहने ठाउँ खन्ने काम सकिएको छ ।
७ दशमलब १ किलोमिटर मुख्य सुरुङमध्ये तीन किलोमिटर खनिएको छ । विद्युत गृहमा रहने केही इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ ।
कार्यकारी निर्देशक घिसिङले आयोजनाको काम अपेक्षा अनुसार अगाडि बढ्न नसकेको बताउनुभयो ।
उहाँले दुई वर्ष्भित्र निर्माण सक्ने गरी कामदार थपी निर्माणलाई तीव्रता दिन, बाँधस्थलको काममा विशेष ध्यान दिन, निर्माण सामग्रीको पर्याप्त व्यवस्था गर्न, ठेकेदारले बेहोरेको नगद प्रवाहको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिनुभयो ।
आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको छ ।
१२ अर्ब २८ करोड अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । चिलिमे कम्पनीको अगुवाईमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण, सिन्धुपाल्चोकका चार इन्भेष्टमेन्ट कम्पनीहरु, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, सिन्धुपाल्चोकवासी, सर्वसाधारणलगायतको लगानी रहने छ ।
आयोजनाबाट वार्षिक रुपमा ५४ करोड २० लाख यूनिट विद्युत उत्पादन हुनेछ । आयोजनाले विद्युत बिक्रीबाट वार्षिक दुई अर्ब ९० करोड ४३ लाख रुपैयाँ आम्दानी गर्नेछ ।