काठमाडौं , २९ पुस ।
युवा संघ नेपाल रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा सहयोगी भूमिका खेलेको आरोप लागेका बाबु भनिने तुलबहादुर सिंजालीलाई आज नेपाल ल्याइएको छ ।
नेपाल प्रहरीको इन्टरपोलले कतार प्रहरीसँग समन्वय गरेर सिंजालीलाई आज नेपाल ल्याएको अपराध अनुसन्धान विभाग अन्तगर्त इन्टरपोल शाखाकी प्रमुख एसपी किरण बज्राचार्यले जानकारी दिनुभयो ।
सिंजालीलाई कतार प्रहरीले एक साताअघि पक्राउ गरेर आज नेपाल डिपोट गरेर पठाएको प्रहरी मुख्यालयले जनाएको छ ।
तिवारी हत्याको जिम्मेवारी लिएका र प्रहरी अनुसन्धानबाट मुख्य योजनाकार भनिएका मनोज पुन र हत्यामा सहयोग गर्ने सोमबहादुर आले, श्याम गुरुङ, सिंजाली र राजु नाममा सुटर भने अझै फरार छन् ।
हाल नेपाल ल्याईएका सिंजालीमाथि तिवारी हत्यामा प्रयोग भएको पेस्तोल व्यवस्थापन गरेको र हत्यापछि समेत आफैंले हतियार लिएको प्रहरीले जनाएको छ ।
नेपालस्थित इन्टरपोलका सुरक्षाकर्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सिंजालीलाई पक्राउ गरेर लगेको छ । पक्राउ परेका सिंजालीलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाउने तयारी प्रहरीले गरेको छ ।
तिवारी हत्यामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समिरमान सिंह बस्नेतको समेत संलग्नता रहेको दावी गरेको छ । बस्नेत अहिले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या आरोपमा पक्राउ परिसकेका छन् ।
२०७३ पुस चार गते रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनी बजारमा तिवारीको गोली हानी हत्या गरिएको थियो ।
फरार सबैलाई रुपन्देही अदालतबाट वारेन्ट जारी गरिएको थियो । उनीहरु अहिले प्रहरीको ‘रेड कर्नर’ सूचीमा छन् ।
हत्याका मुख्य योजनाकार भनिएका मनोज पुन युवा संघमै थिए ।
उनले चन्दा असुली र ठेक्कापट्टाबाट पैसा उठाउन थालेपछि तिवारीले कारबाही गर्ने चेतावनी दिएका थिए । कारबाही रोक्न पुनले दबाब दिएपनि तिवारीले नमानेपछि दोश्रो पटकको प्रयासमा तिवारीको गोली हानी हत्या गरिएको थियो ।