२९ पुस, काठमाडौं ।
सरकारले काठमाडौंको चक्रपथभित्र प्रदुषण जाँच पास गरी हरियो स्टिकर नटाँसिएका गाडीलाई प्रवेशमा रोक लगाउने तयारी गरेको छ ।
सोहि तयारी स्वरुप यातायात व्यवस्था विभागले थप प्रदुषण जाँच्ने यन्त्र ल्याउन लागेको विभागका निर्देशक प्रेमकुमार सिंहले जानकारी दिनुभयो ।
सिंहदरबार आसपास, पुतलीसडक, ठमेलको त्रिदेवीमार्ग, दरबारमार्ग, विमानस्थल, न्युरोड र दरबार स्क्वायर क्षेत्रमा यसअघि नै हरियो स्टिकर नटाँसेका सवारीलाई निषेध गरिसकेको सरकारले अब यसलाई विस्तार गर्ने योजना बनाएको हो ।
प्रदुषण जाँच गर्न सरकारसँग तीन वटा मात्रै मेसिन रहेकाले कार्यान्वयन पक्ष फितलो भएको र थप स्थानमा पनि उक्त योजना लागु गर्ने तयारी रहेकाले ४० वटा मेसिन किन्न टेण्डर गरिएको विभागका निर्देशक सिंहले बताउनु भयो ।
उहाँका अनुसार पहिलो चरणमा रिंगरोडभित्र हरियो स्टिकर नलागाई आउने सवारीलाई रोकिने छ भने त्यसपछि दोस्रो चरणमा उपत्यकाभित्र नै यो नियम लगाइनेछ । तेस्रो चरणमा भने देशभर नै हरियो स्टिकरको प्रावधान लागू हुने विभागले जनाएको छ ।
अहिले दुईपांग्रे सवारीको प्रदुषण जाँच हुँदैन । अब ४० वटा नयाँ मेसिन आएपछि देशभरका यातायात कार्यालयमा प्रदुषण जाँच्ने संयन्त्र राख्ने विभागले जनाएको छ ।