काठमाडौं, पौष २७ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा लगायत माग गर्दै डा. गोविन्द केशीले गरिरहेको अनशनको समर्थनमा आज पनि राजधानीमा प्रदर्शन भएको छ ।
न्यायाधीशले न्यायको किनबेच गरेको, मेडिकल शिक्षाका बारेमा प्रधान्यायाधीश गोपाल पराजुलीले बदनियत राखी फैसला गर्ने गरेको लगायत डा. केसीले उठाएका मागको सुनुवाई गर्न माग गर्दै माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनमा सहभागी केसीका समर्थकले एमाले अध्यक्ष केपि ओलीमाथि पनि आक्रोश पोखेका छन् ।
प्रदर्शनका क्रममा सम्बोधन गर्दै अधिवक्ता ओम प्रकाश अर्यालले एमाले अध्यक्ष ओलीको २०२८ सालदेखिको ट्रयाक रेकर्ड आफूसँग भएको भन्दै अबको निशानामा केपी ओली रहेको बताउनु भयो ।
अर्यालले नेपालमा कुनै पनि पार्टी राष्ट्रवादी नभएको बताउँदै देशमा राष्ट्रवादी डा केसी र उहाका आन्दोलनमा जोडिएकाहरु रहेको वताउनु भयो ।
त्यस्तै डाक्टर केसीका सहयोगी डा अभिषेक राज सिंहले केपी ओलीलाई माफियाको घेरा बाहिर आएर बहस गर्न चुनौती दिनभएको छ ।
अध्यक्ष ओलीलाई सम्बोधन गर्दै डा सिंहले भन्नुभयो , उपचार गर्न विदेश जाँदैगर्दा तीन करोड नेपालीको भविष्यका लागि लडिरहेका डा केसीलाई जुन अभिव्यक्ति दिनुभएको छ, त्यसले तपाईँको स्तर निर्धारण गर्छ । कमरेड ओली तपाईँले अति गर्नुभयो। अब तपाईँका दिनगन्ती सुरु भए।’
माइतीघरमा भएको प्रर्दशनमा प्रदर्शनकारीले ’चारैतिर प्रष्ट छ गोपाल पराजुली भ्रष्ट छ’, ’म पनि गोविन्द केसी, मलाई पनि पक्राउ गर’, ’दुइटा नागरिकता कस्को, एसएलसी फेल पराजुलीको’, ’डा केसीको अनशन, पराजुली लाई टेन्सन’ जस्ता नारा लगाएका थिए।