रुपन्देही–११ धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार धनगढीस्थित क्षेत्रीय रंगशालामा भएको खेलमा डुक स्टार क्लब भुटानमाथि ३–२ को कठिन जित निकाल्दै रुपन्देही अन्तिम आठमा पुगेको हो ।
रुपन्देहीको जितमा अमर डंगोलले खेलको २२ र ३८औं मिनेटमा गरी दुई गोल गरे । रुपन्देहीका लागि अर्को एक गोल ६९औं मिनेटमा मनीष थापाले गरे । अमर खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
डुक स्टारले दोस्रो हाफमा दुई गोल फर्काएको थियो । डुक स्टारका लागि खेलको ५८औं मिनेटमा किङ्गा रग्वे र अतिरिक्त समयमा येशी दोर्जीले गोल गर्न सफल भए ।
दोस्रो हाफमा रुपन्देहीका खेलाडी गौतम श्रेष्ठले ‘डी एरिया’मा डुक स्टारका खेलाडीलाई लडाएपछि रेफ्रीले पेनाल्टी प्रहारको अवसर दिए । तर, डुक स्टारका केजङ् वाङ्डीको प्रहारलाई रुपन्देहीका गोलकिपर सुजित गुरुङले विफल तुल्याए ।