पोखरा, २० पुस । नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्ति बनाउने निर्णय गरेको छ ।
कास्कीको पर्यटकीय गाउँ ल्वाङमा लगातार तीन दिनसम्म चलेको बैठकले पार्टी स्थापना यताका सकारात्मक उपलब्धिको रक्षा र देखिएका कमजोरीलाई निर्ममतापूर्वक हटाउँदै समयको मागअनुरुप सशक्त वैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्ने लगायत १० बुँदे घोषणापत्र आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरियो ।
पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले पाँच वर्षभित्र पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्ने बताउनुभयो । नयाँ विचार सहित जानुपर्छ भन्ने सोचका साथ पार्टी अघि बढेको बताउँदै उहाँले नेपाललाई समृद्धिको मार्गमा लैजाने, राष्ट्रियताको प्रवद्र्धन, स्वाधीनताको रक्षा र समुन्नतिका लागि क्रियाशील बन्ने उल्लेख गर्नुभयो ।
चुनाव पूर्वको गठबन्धन पनि सत्ताको खेलकै अंग जस्तो देखिएको टिप्पणी गर्दै उहाँले परिस्थितिअनुसार दलहरूसँग मुद्दामा आधारित सहकार्य हुने बताउनुभयो । बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा गर्दै पार्टीले तर्जुमा गरेको नीति जनता समक्ष पु¥याउन नसक्नु नै हारको कारण रहेको निष्कर्ष निकालेको छ ।
संघीय परिषद्को बैठकको तयारीका लागि महाधिवेशन आयोजक समिति बैठक बसेको जानकारी दिँदै संयोजक भट्टराईले आगामी फागुन १०, ११ र १२ गते संघीय परिषद्को विस्तारित बैठक बस्ने उल्लेख गर्नुभयो ।
नेपाली जनताको चाहना राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय र समृद्धि भएको र निर्वाचनको जनादेश यही प्रयोजनका लागि भएको महसुस गर्दै बैठकले निर्वाचनपछि राजनीतिक वृत्तमा देखिएका गतिविधिले जनचाहना र जनादेशको पालना एवं सम्मान गर्न नसक्ने स्पष्ट संकेत देखाइसकेको ठहर गरेको छ ।