काठमाडौ १५ पौष ।
पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ हो ।
यसार्थ ल्हो फेरिने दिन अर्थात नयाँ वर्षलाई नै ल्होसार भनिएको हो । तमु सँस्कृति अनुसार आज मान्यजनबाट आशिष ग्रहण गर्दै खुशीसाथ सामूहिक भोज, साँस्कृतिक कार्यक्रम एवं नाचगान गर्ने गर्दछन् ।
नेपालमा गुरुङसहित शेर्पा र तामाङ समुदायले पनि ल्होसार पर्व मनाउछन् । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा हरेक वर्ष पौष १५ मा यो पर्व मनाउने गरिन्छ ।
यस्तै तामाङ समुदायले माघ महिनामा सोनम ल्होछार मनाउने गर्छन् भने शेर्पा समुदायले फागुनमा ग्याल्बो ल्होसार मनाउने गरिन्छ । कुनै कुनै स्थानमा तामाङ समुदायले पनि ग्याल्बो ल्होसार मनाउने गरेको पाइएको छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले यस पर्वको महत्व रहेको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले बताउनुभयो । ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यसवर्ष शनिबार नै यो पर्व परेको छ ।
आज राजधानीमो टुँडिखेलमा विशेष कार्यक्रमको समेत आयोजना गरिएको छ । यसैबिच ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश जारी गर्नुभएको छ ।
यसैबीच सुदूरपश्चिमका जिल्लाहरुमा आजै ठूलीरात पर्व धुमधामसँग मनाईंदैछ । एक दिन भएपनि घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य वनभोज जाने र मीठामीठा खानेकुरा खाने चलन रही आएको छ ।
आजको रात सबैभन्दा लामो हुने भएकाले यसलाई ठूलीरात मानी राति मीठामीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको स्थानीय सँस्कृतिकर्मी दया कृष्ण पन्तले बताउनुभयो ।
रातभरि कथा, कहानी सुन्ने र सुनाउने तथा तरुल सखरखण्ड पकाएर खाने चलन रहेको उहाँले बताउनुभयो । तेल अथवा घ्यूमा तारेर पकाइएका खानेकुरा अथवा घ्यू हालेको भात खाने गरिन्छ ।