१० पुस,काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेशको पक्षमा बोल्न थालेका छन् । प्रचण्डले आइतबार विहानमात्रै एमाले अध्यक्षलाई फोन गरेर गम्भीर बन्न भनेका छन् । प्रचण्डले नवलपरासी पुगेर एमालेले आफूहरुलाई बाहिरै राखेर एमालेले सरकार गठनको प्रयास गरेको समेत खुलासा गरेका थिए ।
पछिल्ला दिनहरुमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सभालाई काँग्रेसविहीन बनाउन नहुने बताउँदै आएका छन् । उनले काँग्रेसको पनि उपस्थित अनिवार्य भएको नेताहरुसँग बताउन थालेका छन् । एकल संक्रमणीय प्रणालीमा गए काँग्रेसलाई मात्रै नभएर मोकलाई फाइदा गर्ने र बहुमतिय प्रणालीले एमालेलाई मात्रै फाइदा गर्ने भएकोले पनि प्रचण्डले अध्यादेशको पक्षमा बोलेको विश्लेषण गरिन थालिएको छ ।
काँग्रेसले अध्यादेश पारित गर्न र एमालेले नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई दवाव दिँदै आएका छन् । केही दिन यसबारे बीचमा बसेका प्रचण्ड पछिल्ला दिनहरुमा खुलेरै अध्यादेशको पक्षमा बोल्न थालेपछि एमाले नेताहरु झस्किएका छन् ।
आइतबार चितवनमा भएको एक कार्यक्रममा प्रचण्डले प्रतिपक्षलाई पनि समालेर लिनुपर्ने बताएका थिए । काँग्रेसको समस्या एमालेले बुझ्नु पर्ने समेत प्रचण्डले बताएका थिए ।
अध्यक्ष प्रचण्डका पछिल्ला अभिव्यक्तिले एमाले अध्यक्ष केपी ओली पनि झस्किएका छन् । उनले माके काँग्रेस मिल्न सक्ने भन्दै यसबारे सूचना संकलन गर्न आफू निकटका नेताहरुलाई भनेको स्रोतले बतायो ।
यसैबीच एमाले अध्यक्ष ओलीले संघीय समाजवादी फोरमका नेताहरुलाई आइतबार साँझ भेट्न आफू निटकका नेताहरुलाई पठाएको बताइएको छ । एमालेले फोरमलाई सरकारमा सहभागी गराएर माकेलाई बाहिरै राख्न खोजेको प्रचण्डले नै भनिसकेका थिए । एमालेले फोरमसँग फेरि छलफल गरेको छ ।
फोरम निटक स्रोतले एमाले नेताहरु भेटन आएको स्वीकार गरेको छ । “एमाले नेताहरुले भेटौ कि भेटौं भनेपछि भेट भयो, उहाँहरुले पहिले झैं कुरा राख्नुभयो । हामीले पनि कुरा राख्यौं” फोरम नेताहरुलाई उदृत गर्दै स्रोतले भन्यो । भेटघाटमा उपलब्धीविहीन भएको बताइएको छ ।
एमालेको फोरमसँगको छलफललाई फेरि जोडेपछि माओवादी केन्द्र पनि सशंकित भएको छ । यसरी एक अर्काप्रति शंका र प्रतिशंका बढ्दै गएमा एमाले र माकेको हुने भनिएको पार्टी एकता हुन्छ नै भन्न सकिदैन ।
एमाले-माकेको एकतालाई लिएर एमालेभित्रै दुईटा धारणा अाएका छन् । ओली समूहका नेताहरुले प्रचण्डलाई पार्टी अध्यक्ष दिन नसकिने प्रष्टै बताएका छन् भने नेता मावध कुमार नेपाल, वामदेव गौतम र झलनाथ खनाल पक्षले नेतृत्व अालोपालो गर्न सकिने बताउँदै अाएका छन् । यता माकेभित्र पनि एमालेसँग झुकेर एकतामा नजान नेतृत्वलाई कार्यकर्ताको दवाव छ । नेता गोपाल किराती, विश्वभक्त दुलालसहित केही युवा नेताहरुले एमालेसँग एकता नै गर्न नहुने र एकता भए अाफूहरु पार्टी पुर्नगठन गर्ने बताउँदै अाएका छन् ।