डा. देवकोटाको स्वास्थ्यलाभको कामना गर्न डा. भोला रिजाल पशुपतिनाथमा दीप प्रज्वलन गर्दै : चिकित्सकको विश्वास, औषधि कि अध्यात्म ?

डा. देवकोटाको स्वास्थ्यलाभको कामना गर्न डा. भोला रिजाल पशुपतिनाथमा दीप प्रज्वलन गर्दै : चिकित्सकको विश्वास, औषधि कि अध्यात्म ?

  • आइतवार, पुस ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं : लण्डनस्थित किङ्स कलेज हस्पिटलमा वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाको उपचार भइरहेका बेला काठमाडौंकी रहेकी सरला रिजाललाई आघात पर्‍यो। आफ्ना पति वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालसँग राति सुत्ने बेला सल्लाह गरिन्। भावुक बनेका दम्पत्तिको राय मिल्यो,‘डा.देवकोटालाई निको होस भन्ने कामनाका साथ दीप प्रज्वलन गर्ने।’

दुई वर्षअघि सरलालाई पेटको क्यान्सर भएको थियो। अप्रेशनपछि अहिले बिसेक भइरहेको छ। चर्चित न्युरो सर्जन डा. देवकोटा आकस्मिक रुपमा बेहोस भएपछि उपचाररत भएको समाचार सार्वजनिक भएपछि उनी भावुक भइन्। तर, दीप प्रज्वलन कहाँ गर्ने ? कसरी गर्ने ? यी प्रश्नले दम्पत्तिलाई खेदिरह्यो। उनै दम्पत्तिको परिकल्पनालाई सार्थक तुल्याउन अन्य चिकित्सकले पनि आइतबार मध्यान्ह १२ बजे स्टेस्थेस्कोप बिसाए। प्रेस्क्राइब गर्ने कलम थन्काए र हान्निए, पशुपतिनाथको शरणमा। अगुवाको भूमिका निर्वाह गरेका डा. रिजाल आफै पनि एक महिलाको अप्रेशन गर्नुपर्ने कामलाई रोकेर मन्दिर आएका थिए। उनलाई पूर्व मन्त्री मोदनाथ प्रश्रित, एमाले सांसद रामेश्वर फुयाँल लगायतकाले पच्छाए।

उपचाररत ६३ वर्षीय डा. देवकोटालाई निको होस भन्दै पशुपति परिसरमा चिकित्सकले लर्को लागेर कामना गर्दै दीप प्रज्वलन गरेको दृश्यले सर्वसाधारण अचम्भित देखिन्थे। सम्भवतः पहिलो पटक चिकित्सकले भगवानको शरणमा पुगेर गरेको प्रार्थनालाई धेरैले विष्यमका साथ हेरिरहे। यद्यपी, उपस्थित चिकित्सकदेखि सर्वसाधारणसम्मको एउटै कौतुहल थियो, ‘डा देवकोटालाई भएको के हो ? के उनी ठिक भएर फर्कलान ?’। यही प्रश्न अन्नपूर्णले आयोजक डा. रिजाललाई राख्दा उनले भने, ‘गल ब्लाडर (पित्त थैली)को समस्या हो भन्ने सबैलाई थाहा भयो। तर अब कुन खालको समस्या हो। निको हुन सक्ने÷नसक्ने ? अप्रेशन हुन सक्ने÷नसक्ने डिटेलमा थाहा पाए भने जानकारी गराउँछु। तर, उहाँचाहिँ अस्पतालमै हुनुहुन्छ। उहाँको उपचार भइरहेको छ।’

व्यक्तिगत सूचना सार्वजनिक नगर्ने अस्पतालको प्रचलन अनुरुप डा. देवकोटाको स्वास्थ्य अवस्थाबारे सार्वजनिक गरिएको छैन। परिवारले पनि औपचारिकरुपमा सञ्चारमाध्यमलाई केही बताएको छैन। उनकी पत्नी डा. मधु देवकोटा पनि साथमै छिन्। छोरी पनि लन्डनमै अध्ययनरत छिन्। तर, आफन्तलाई समेत स्वास्थ्यका बारेमा केही नबताएका कारण कौतुहलता विस्तार भइरहेको छ।
डा. देवकोटा, जसले हजारौं विरामीलाई जीवनदान दिएकोले शीघ्र स्वास्थ्यलाभको कामना गरिएको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.रिजालले बताए। उनले भने, ‘उहाँ विरामी हुनुहुन्छ भन्ने सुनेपछि शीघ्र स्वास्थ्यलाभको कामना गरिएको हो। धेरैैं सहभागीले दीप प्रज्वलनका साथ गरिएको प्रार्थना भगवान पशुपतिनाथले अवश्य सुन्नुहुन्छ भन्ने विश्वास लागेको छ।’ त्यहिँ विश्वासमा विश्वस्त देखिन्थे, वरिष्ठ रेडियोलोजिष्ट डा.आनन्द श्रेष्ठ, डा. हरिश जोशी, डा.मुकुन्द ढुंगानालगायतका चिकित्सक। बिरामी चिकित्सकलाई निको होस भन्ने कामनाकासाथ डेढ सय दीप प्रज्वलन गरे।

डा. रिजालको अध्यात्मप्रतिको यो लगाव पछिल्लो समय निकै गढेको छ। कांग्रेस महामन्त्री शशांक कोइराला अचेत भई ओम अस्पतालमा भर्ना भएका बेला पनि उनले भगवानप्रति आस्था राख्न शुभेच्छुकसँग अनुरोध गरेका थिए। अस्पताल परिसरमा रहेका कांग्रेस कार्यकर्ता एवम् शुभचिन्तक सामु उँभिएर उनले भनेका थिए, ‘कृपया भीड नगर्दिनुहोस। बरु मन्दिर जानुहोस्। देवालय÷शिवालय गई उहाँ (शशांक)को लागि प्रार्थना गर्दिनुहोस्। त्यतिभयो भने हाम्रो उपचार पनि लाग्छ। हामी बचाउन सक्छौं।’ यस प्रसंङ्गको स्मरण गर्दै डा. रिजालले अन्नपूर्णसँग भने, ‘साँझदेखि नै उहाँ(डा. शशांक)को स्वास्थ्यमा सुधार आउन थाल्यो। जबकी, उहाँ बाँच्नुुहोला भन्ने कसैले पनि ठानेका थिएनन।’

शाही शासन कालमा स्वास्थ्य मन्त्री बनेका डा. देवकोटाको स्वास्थ्य लाभको कामना गर्दै चिकित्सक आफैले घर ÷घरमा भए पनि दीप प्रज्वलन गर्ने कि भन्दै डा. रिजालले डा मुुकुन्द ढुंगानासँग राय मागे। अन्ततः सबैलाई भेला गरेर पशुपतिनाथ परिसरमा गर्ने निर्णय भयो। नेपाल मेडिकल कलेज, ओम अस्पतालका साथै डा. देवकोटाको अग्रसरतामा स्थापित बाँसवारिस्थित न्युरो अस्पताल लगायतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले ऐक्यवद्धता जनाए।

चिकित्सकको विश्वासः औषधि कि अध्यात्म ?
औषधिमा बढी विश्वास राख्ने चिकित्सकको अध्यात्मप्रेम देखेर पशुपति परिसरमा रहेका सर्वसाधारण आश्चर्यमा परे। चार्टड एकाउन्टेन्टका विद्यार्थी विक्कि अधिकारी दीप प्रज्वलनले चिकित्सकबीचको एकता देखाए पनि सन्देश प्रभावकारी नभएको बताए। सर्लाही, नवलपुरका अधिकारीले भने, ‘डाक्टरहरुबीच एकता देखिनु सकारात्मक छ। तर, चिकित्सा भन्दा पनि भगवानप्रति नै बढी विश्वास गर्ने हो भने विरामीसामु चिकित्सकले आफूलाई ठूलो ठान्दै घमण्ड प्रर्दशन गर्नुुको औचित्य छैन।’ सर्वसाधारणमा पनि डाक्टर भन्दा त भगवान नै ठूलो भन्ने सन्देश जाने अर्का प्रत्यक्षदर्शी रमण साहले बताए। व्यवस्थापनमा स्नातकोत्तर तह अध्ययनरत जनकपुरका साहले भने, ‘विरामी भएपछि चिकित्सककोमा जानु साटो विरामीहरु मन्दिरतर्फ जाने डर भयो।’

अस्पताल परिसरमा मन्दिर स्थापना गर्ने प्रचलन छ। मानवशास्त्री सुरेश ढकाल विरामी चिकित्सकप्रति भातृत्व एवं पेशागत ऐक्यवद्धता देखाउनुलाई स्वभाविक मान्छन्। उनी भन्छन, ‘चिकित्सा उहाँहरु (डाक्टर)को पेशा हो तर विश्वास होइन। तर, केहीका लागि चिकित्सा पेशा र विश्वास दुवै हो।’

चिकित्सकको विश्वास औषधिमा भन्दा अध्यात्ममा आस्था बढेको हो त ? भन्ने प्रश्नमा संयोजनको भूमिका खेलेका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. रिजालले सहमति जनाए। उनले भने, ‘सत प्रतिशत सत्य हो। त्यसमा कुनै शंका छैन। कसैलाई शंका छ भने मनबाट हटाइदिए हुन्छ। जसले जतिसुकै आफूलाई घमण्ड गरे पनि जबसम्म हामीले गरेको कार्यमा आध्यात्मिकताको प्रभाव पर्दैन। तबसम्म एलोपेथी होस वा आयुर्वेदिक होस अथवो होमियोपेथिक होस। अध्यात्मको प्रभाव विना जुनसुकै विधाको चिकित्सा पनि फिक्का छ। किनभने, हामीले आफूले गर्न पर्ने सबै चिज गरिसकेपछि बाँकि रहेको चिज चाहिँ भगवानको हातमा छ।’

मानवशास्त्री ढकाल परम्परा र ज्ञानबाट धेरै पेशाकर्मी निर्देशित हुने बताउँछन्। उनी भन्छन, ‘पछि अध्ययन गरेका कुराहरु पेशासँग मात्र जोडिएका हुन्। पेशागतरुपमा चिकित्सा विज्ञानको उपयोग गरेपनि विश्वासचाहिँ विज्ञानमा भन्दा भगवानप्रति भएको हो।’ पेशा र विश्वास फरक÷फरक कुरा हुन्। चिकित्सक मन्दिरमा गएर पूजा गर्दै ढोग गरे पनि व्यक्तिगत विषय भन्दै पन्छन खोज्छन्। मानवशास्त्री ढकालका अनुसार एउटै व्यक्तिले विज्ञान र परम्परालाई एकसाथ लैजान असमर्थ हुन्छ। उनी भन्छन, ‘चिकित्सा पेशा छोडेपछि धेरे डाक्टरहरु भजन नै गरेर बस्नुहुन्छ। चिकित्सा विज्ञानको थप उपलब्धि खोज्न तिर लाग्नु हुन्न। चिकित्सा अभ्यास पेशागत र प्राविधिक कुरा हो। तर, सुस्वास्थ्यको कामना गर्दै मन्दिरमा दीप प्रज्वलन गर्न जानु चाहिँ विश्वास हो। अन्नपूर्ण पाेष्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ