८ पुस ,काठमाडौं । कालीकोटमा प्रहरीले गोली हानी मारिएको म्यादी प्रहरी विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै कर्णालीका युवाहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।
काठमाडौंमा बसोबास गर्दै अाएका कर्णालीका बिभिन्न पेश-व्यसायमा अावद्ध व्यक्तिहरुले शनिबार साँझ माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए । उनीहरुले चुनावको सुरक्षा सकेर घर फर्किने बेला विना कारण प्रहरीले गोली हानी हत्या गरेको भन्दै चर्का नारा लगाएका थिए । विरोध प्रदर्शनमा सहभागीहरुले सरकार र प्रहरी प्रशासनविरुद्ध नारा लगाउँदै एेडीलाई सहिद घोषणा नगरे शसक्त अान्दोलनमा जाने बताएका थिए ।
बिरोध प्रर्दशनपछि बोल्दै नेकपा एमाले कालिकोटका अध्यक्ष नेशनल शाहीले शान्तिपूर्ण आन्दोलनमा गोली चलाउने प्रहरीलाई कडा कारबाही गर्नुपर्ने माग गरे । शाहीले रोटीका लागि आन्दोलन गर्ने युवालाई गोली दिने बर्तमान सरकारको राजीनामा समेत माग गरे ।
त्यस्तै माओवादी केन्द्र कालीकोटका जिल्ला सदस्य खेमबहादुर सिंहले विवेक ऐडिलाई शहीद घोषणा गरेर क्षतिपूर्ती सहित घटनामा संलग्नलाई कारबाहीको माग गरे ।
अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य तिलक उपाध्यायले गृहप्रशासनको रबैयाले युवाहरुलाई आक्रोशीत बनाएको भन्दै दोषीलाई कडा कारबाहीसहित विवेक ऐडिलाई शहिद घोषणा नगरे आन्दोलन गर्ने चेतावनी दिए ।