कालिकोट , ८ पुस ।
प्रहरीको गोली लागेर एक म्यादी प्रहरीको मृत्यु भएपछि आज पनि स्थानीय म्यादी प्रहरीले कालिकोटमा प्रदर्शन गरिरहेका छन् ।
निर्वाचनमा खटिँदाको ज्याला कम भएको गुनासो गर्दै म्यादी प्रहरीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउदा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएपछि त्यसको विरोधमा स्थानीय र म्यादी प्रहरीले प्रदर्शन गरेका हुन् ।
उनीहरुले घटनाको विरोधमा सदरमुकाम मान्म बजार बन्द गरे आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनका कारण कर्णाली राजमार्गको कालिकोट खण्डमा यातायात समेत अवरुद्ध भएको छ। आन्दोलनकारीले राजमार्गमा टायर बालेर यातायात ठप्प पारेका छन्।
स्थानीय बासिन्दाले गोली चलाउने प्रहरीलाई तत्काल कारबाही, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति र म्यादी प्रहरीको माग सुनुवाई गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी रहने भन्दै उनीहरूले जिल्ला प्रहरी कार्यालयमा धर्ना पनि दिइरहेका छन्।
स्थानीय प्रशासनले गोली नभइ ढुंगा लागेर म्यादी प्रशरीको मृत्यु भएको भनेपछि जिल्लाका राजनीतिक दलहरुसमेत आक्रोशित बनेका छन्।
मृतकलाई सहिद घोषणा र क्षतिपूर्ति उपलब्ध नभएसम्म आफन्तले शव नबुझ्ने अडान लिएका छन्।
मृतक म्यादी प्रहरी विवेक ऐडी पीडित संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ। मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई २५ लाख क्षतिपूर्ति, दोषीलाई कारबाही, घाइतेको निःशुल्क उपचार र म्यादी प्रहरीको माग पूरा हुनुपर्ने अडान संघर्ष समितिले लिएको छ।
उता प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले अवस्था सामान्य बनाउन पहल जारी रहेको जानकारी दिनुभयो । प्रदेश ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले घटनाको बारेमा छानबीन भइरहेको बताउनुभएको छ ।
फोटो /भिडियो : अन्नपूर्ण पोष्टबाट
