काठमाडौं ,८ पुस।
ठूला व्यापारी र राजनीतिक पहुँच भएका व्यक्तिले पक्राउ परेपछि प्रहरी हिरासत छल्न अस्पताल रोज्छन्। अनुसन्धान प्रभावित पार्न अस्पताल रोज्ने त्यस्ता अभियुक्तलाई प्रहरीले ‘नौटंकी’ भन्दै आएको छ।
पछिल्लो पटक प्रहरीमा अर्को नयाँ अभ्यास सुरु भएको छ। मुद्दा चलाउने र अनुसन्धान गर्ने तालुक निकायको हिरासतमा रहनुपर्ने एक अभियुक्त दुई सातादेखि अर्को कार्यालयको हिरासतमा बसेका छन्। ती भाग्यमानी अभियुक्त हुन्, गुन्डा नाइके समीरमानसिंह बस्नेत। प्रहरीले बस्नेतलाई नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार भनेको छ। उनी पक्राउ परेदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन्। तर, मुद्दा महानगरीय प्रहरी परिसर टेकुबाट चलिरहेको छ।
काठमाडौं प्रहरीले दुई साता बितिसक्दा पनि उपल्लो तहको दबाबमा बस्नेतलाई आफ्नो कार्यालयमा बयानका लागि उपस्थित गराउन सकेको छैन। यो कार्यशैली अहिले प्रहरी वृत्तमा ठूलै बहसको विषय बनेको छ। सीआईबी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कर कार्कीले बस्नेतलाई काठमाडौं प्रहरीको जिम्मा लगाउन किन आनाकानी गर्दै आएका छन् त ?
बस्नेत पक्राउ शृंखलालाई प्रहरी संगठनभित्रैबाट शंकास्पद रूपमा लिइएको छ। गौचन हत्याको अनुसन्धान गर्न बनेको कार्यदललाई ‘चक्मा’ दिँदै एकाएक सीआईबीले बस्नेतलाई पक्राउ गरेर सार्वजनिक गर्यो। गौचनको गोली हानी हत्या भएपछि अनुसन्धानका लागि डीआईजी गणेश केसीको संयोजकत्वमा कार्यदल नै बन्यो। कार्यदलमा विशेष ब्युरोदेखि सीआईबी, अपराध महाशाखा र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अधिकृतस्तरका प्रहरी समावेश थिए। अनुसन्धान कार्यदलका सदस्यलाई फरक–फरक जिम्मेवारी दिइएको थियो र एकले अर्कोलाई अनुसन्धानबाट खुलेका विषय साटासाट नगर्न निर्देशित गरिएको थियो।
प्रारम्भिक चरणमा एक जना सुटर, मोटरसाइकल र पेस्तोलको प्रबन्ध मिलाउने अभियुक्त सार्वजनिक गरियो। बस्नेतलगायत सात जनाको खोजी भइरहेको जानकारी दिइयो। भारतको बेंग्लोरमा लुकेर बसेको स्थान र स्काइप आइडीसमेत पाएको कार्यदल ‘अब बस्नेत समातिने’ मा ढुक्क थियो। तर, कार्यदलको अनुसन्धान नटुंगीकनै सीआईबीले एकाएक हत्याका मुख्य योजनाकार बस्नेतलाई पक्राउ गरी सार्वजनिक ग¥यो। बस्नेतलाई सीआईबीले कसरी समातेर सकुशल ल्यायो ? कार्यदलका प्रमुखदेखि सदस्यसम्म चकित परे।
सीआईबीले बस्नेतलाई सार्वजनिक गरेपछि कार्यदलका सदस्य सशंकित मात्रै बनेनन्, सूचना कसरी लिक भयो भनेर छक्कसमेत परे। बस्नेत बेंग्लोरमा रहेको स्पष्ट सूचना कार्यदलकै सदस्यबाट सीआईबीमा पुगेको चर्चा यतिबेला चलिरहेको छ। त्यही सूचनाका आधारमा सीआईबी प्रमुख कार्कीले बस्नेतलाई लिन विशेष ब्युरोका डीएसपी टेकुनन्द युवा लिम्बू, सीआईबीका सई रमेश बजगाइँ र विकास हमाललाई दिल्ली पठाएका थिए।
उच्च स्रोतका अनुसार बस्नेतलाई बैंग्लोरबाट दिल्ली र दिल्लीबाट भैरहवासम्म ल्याउन सीआईबीले भारतीय प्रहरीको सहयोग लिएको थियो। अन्नपूर्णलाई प्राप्त सूचनाअनुसार बस्नेतलाई भैरहवाबाट चितवन पुर्याइएको थियो र चार दिन चितवनमै सुविधासम्पन्न तवरले होटलमा सुरक्षित राखिएको थियो। चितवनबाट काठमाडौंमा एक रात पनि सीआईबीको हिरासतमा नराखी एकैपटक पत्रकार सम्मेलनको दिन सार्वजनिक गरिएयो। यति गोप्य ढंगबाट बस्नेतलाई सकुशल ल्याएपछि सीआईबीका अधिकृत नै छक्क परे।
प्रहरी आफैं पनि भनिरहेको छ, बस्नेत ११ वटा मुद्दाका फरार अभियुक्त हुन्। उनीविरुद्ध रुपन्देहीमै ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, लागुऔषध, हातहतियार खरखजाना र चन्दा असुलीको मुद्दा अझै छ। गौचन हत्या प्रकरणमा पनि उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, हातहतियार खरखजना, संगठित अपराध र चन्दा असुली मुद्दा थपिएको छ।
प्रहरी वृत्तमा अहिले खुलेर कोही बोल्दैनन् तर भित्रभित्रै चर्चा छ– यति धेरै अपराधमा संलग्न अभियुक्तलाई आखिर सीआईबीले किन संरक्षण गर्यो ? सीआईबीले बस्नेतलाई पक्राउ गरेपछि अब थप अभियुक्त पक्राउ पर्नेमा अनुसन्धान कार्यदल ढुक्क थियो। तर, हालसम्म अन्य फरार अभियुक्त पक्राउ परेका छैनन्। प्रहरीले भनेअनुसार मनोज पुन, लोप्साङ लामा, गंगाप्रसाद लिङ्देन, श्याम गोम्बे गुरुङ, अमरबहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार छन्।
बस्नेतसँग सम्बन्ध बिग्रिएपछि पुन छुट्टै टोली बनाएर परिचालित छन्। बाँकी फरार सबैको बस्नेतसँग प्रत्यक्ष सम्पर्क हुँदाहुँदै पनि उनीहरूलाई सीआईबीले पक्राउ गरेको छैन। कार्यदलकै एक सदस्य भन्छन्, ‘जुन कार्यालयले बस्नेतलाई पक्राउ गरे पनि प्रहरीले नै गरेको हो तर बस्नेतलाई सार्वजनिक नगरी उसका सहयोगीलाई नियन्त्रणमा लिन त्यो ठूलो मौका थियो। किन प्रयोग गरिएन भन्ने मात्रै हाम्रो प्रश्न हो।’ कार्यदलको अनुसन्धान अझै टुंगिएको छैन। अहिले कार्यदल गुम्बेको खोजीमा जुटेको छ।
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी रवीन्द्र धानुकले अनुसन्धान परिसरबाट भए पनि बस्नेत सीआईबीको हिरातमा रहेको बताए। पक्राउ परेको १५ दिनसम्म पनि किन बयानका लागि परिसर नल्याउनुभएको भनेर प्रश्न गर्दा उनले भने, ‘यो विषयमा म धेरै बोल्दिनँ, बरु उतै (सीआईबी) तिरै सोध्नोस्।’
सीआईबीका प्रमुख डीआईजी पुस्कर कार्कीले आफूलाई बस्नेतको संरक्षण गरेको आरोप लगाउनु गलत हुने बताए। उनले भने, ‘मैले पनि सुनेको छु, म गुन्डा संरक्षणमा लागें भनेर। यी सबै आरोप मात्रै हुन्। जसले हिजो गुन्डाबाट असुली गर्दै आएका थिए, सुनचाँदी लिए, म्यानपावरबाट पैसा उठाएका थिए, उनीहरूले नै आरोप लगाएका हुन्।’ उनले बस्नेतबाट परिचालित केही अभियुक्त परिसरकै हिरासतमा रहेको र उनीहरूको बयान सकिएपछि मात्रै बस्नेतलाई ल्याएर बयान गर्ने भनिएपछि चुप लागेर बसेको बताए। -अन्नपूर्ण पोष्टबाट