काठमाडौ, पुष ८।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताबीच कुनै बिबाद नभएकोले एमालेसँगको पार्टी एकता हुनेमा ढुक्क रहन आग्रह गर्नुभएको छ ।
माओवादी केन्द्रले भैरहवामा प्रचण्डको सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले एक दुई जनाले विरोध गरेर एकता नरोकिने प्रष्ठ पार्नुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो ,‘को नेताले के भने, त्यसको पछि नलाग्नुस् । एमाले र माओवादीमा एकता मन नपराउने एकाध मान्छे होलान् । तर, हामी सबै एकताप्रति इमान्दार छौं, हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुङ्गाउँछौं।
एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्न पार्टी कार्यकर्तासँग आग्रह गर्दै उहाँले एकताका लागि नेतृत्वलाई सहयोग गर्ने र बल गुग्ने गतिबिधि मात्रै गर्न निर्देशन दिनुभयो ।
अध्यक्ष प्रचण्डले राष्ट्रिय सभासम्बन्धि देखिएको विवाद छिटै अन्त्य हुने पनि बताउनु भयो ।
बहुमतीय कि एकल संक्रमणीय भन्ने विवाद छलफलबाटै टुङ्गिन्छ। उहाँले भन्नुभयो ,अब देश राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्छ ।’
अर्को प्रशंगमा उहाँले प्रतिनिधिसभातर्फको समानुपातिक सांसदबारे पार्टीले निर्वाचन आयोगको निर्देशन लगत्तै फाईनल निर्णय गर्ने बताउनु भयो ।