८ पुस, कैलाली ।
कैलालि र सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको मुडाबजार सडकखण्डमा आज बिहान ना ६ ख १९९० नंको ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।
दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा चालक दाङ जिल्ला लमही नगरपालिकाका हरिप्रसाद चौधरी रहेका छन् ।
सडकबाट चिप्लिएर छेउको नालीमा ठोक्किएर ट्रक दुर्घटना भएको भएको इलाका प्रहरी कार्यालय सडकपुरबौनिया (कैलाली)का प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीले जानकारी दिनुभयो ।
सहचालक लमही नगरपालिकाकै अनिल चौधरी गम्भीर घाइते भएका छन् । घाईतेको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
दाङबाट सिमेन्ट लिएर धनगढीतर्फ आउँदै गरेको सो ट्रक आज बिहान बाक्लो हुस्सुका कारण अचानक सडकबाट चिप्लिएर दुर्घटना हुन पुगेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।
यसैबीच राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रायपुर गाउँपालिकास्थित सडकमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रुपनी गाउँपालिका– २ निवासी २६ वर्षीय उतिमलाल मण्डल रहेको प्रहरीले जनाएको छ ।
राजविराजबाट रुपनीतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको ट्र्याक्टरलाई सोही दिशाबाट जाँदै गरेको स५प १७०३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडि सवार रुपनी गाउँपालिका– ३ निवासी ४६ वर्षीय महेन्द्रप्रसाद इशरको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।