विराटनगर, ८ पुस । प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रमसंगै प्रदेशको नाम र राजधानीको विषयमा चर्चा परिचर्चा सुरु भएको छ । प्रदेशको राजधानीको विषयमा जनस्तरबाट ठूलो दवाव भइरहेको भएपनि नामको विषयमा भने अहिले खासै चर्चा भएको छैन । प्रदेशको नामको विषयमा निर्वाचित सांसदहरु पनि बहस गर्ने पक्षमा देखिएका छैनन् ।
प्रदेशको नामको विषयमा पहिलो संविधानसभाकै कालखण्डमा धेरै वहस र विवाद भएका कारण नेताहरु अहिले जनस्तरमा बहस पु–याउने पक्षमा नदेखिएका हुन् । प्रदेश नम्वर १ बाट मुख्यमन्त्रिका दावेदार रहनुभएका भीम आर्चाले प्रदेशको नामलाई लिएर जनताका बीचमा बहस गर्न जरुरी नभएको बताँए । उनले भने ‘नामको विषयमा पछि बहस गरौंला, यसले विवाद र असमझदारी बढाउने खतरा हुन्छ जसलाई पछि व्यवस्थापन गर्न जटिल हुनसक्छ ।’
यद्यपी उनले पहिले बहसमा आएका जातीय बाहेकका नाममा सहमति जुटाउन सकिने बताए । प्रदेश नम्वर १ मा किराँत, लिम्बुवान, कोचिला, विराट, बराह, विराट–सगरमाथा आदि नामहरु छलफलमा छन् । कोचिला, किराँत र लिम्बुवान आन्दोलनबाट स्थापित भएका नामहरु हुन् भने विराट प्रदेश ऐतिहासिकताका आधारमा चर्चामा ल्याइएको नाम हो । भुगोल र ऐतिहासिकतालाई आपसमा जोड्ने नाम विराट सगरमाथा भएको सांसद जीवन घिमिरे बताउनुहुन्छ ।
नामको सन्दर्भलाई लिएर प्रदेशसभा सदस्यमा मोरङबाट निर्वाचित सांसद जिवन घिमिरे भन्नछन् ‘प्रदेश नम्वर १ को नाम विराट सगरमाथा राख्नु पर्छ भन्ने प्रस्तावमा मैले छलफल अघि बढाउँदैछु । औपचारिकरुपमा छलफल सुरु भएपनि जनस्तरमा छलफल गर्दा राम्रो हुन्छ भन्ने लागेको छ ।’ राजनीतिक दलहरुले प्रयाप्त छलफल नगरी निर्णय गर्दा दिर्घकालसम्म विवाद हुनसक्ने खतरा रहन्छ । नेपालमा राजतन्त्रको अन्त्य र धर्म निरपेक्षताको अवलम्वन गरिँदा जनतासंग छलफल नभएको भन्दै अहिलेपनि असन्तुष्टिहरु प्रकट हुने गरेका छन् । त्यस्ता असन्तुष्टिलाई न्युनिकरण गर्न प्रदेशको नाम र राजधानीको विषयमा पनि छलफल गर्नु पर्ने नेकपा माओवादी केन्द्र मोरङका नेता गणेश उप्रेती सुशिल बताउछन् । प्रदेशको नाम राख्ने विषयमा छलफल अघि बढाउन ढिलो गर्न नहुने नेपाली काग्रेंसका युवा नेता तथा प्रदेशसभाका सांसद केदार कार्कीकाे तर्क छ । उनी भन्छन् ‘सबैलाई मान्य हुने, सबै वर्ग, समुदाय, इतिहास र भुगोल संस्कृतिको पहिचान झल्कने गरी नामाकरण गर्नु पर्छ त्यसकालागि हामी छलफल अघि बढाउँछौं ।’
उनले पहिले प्रस्तावित र अहिले आएका नामहरुको विषयमा छलफल गरेर निश्कर्षमा पुग्नसकिने बताए । प्रदेशको नामको सवालमा प्रकृयामै गएपछि छलफल गर्ने सोच प्रदेश नम्वर १ का मुख्यमन्त्रिका दावेदार शेरधन राईको छ । उनले भने ‘प्रदेश सभाको पहिलो बैठकले निर्णय गर्नु पर्ने विषय हो हामी बैठकको प्रकृयामा गएपछि आम सहमतिमा नामाकरण टुंग्याउने पक्षमा छौं ।’ जुन नाममा सहमति बन्छ त्यहि निर्णय गर्नु उपयुक्त हुन्छ तर याे नै हुनुपर्छ भनेर जाँदा राम्रो पर्दैन तर निर्णय चाँही सबैलाई चित्त बुझ्ने नै गरिन्छ ।’
नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित कुलप्रसाद साम्बा लिम्बु पनि नामको विषयमा अहिले बहस नभएको बताए। उनका अनुसार अब बहस अघि बढाउँदा राम्रो हुन्छ । ‘यो लिम्बुवान र किराँतहरुको ऐतिहासिक भूमि हो त्यसकालागि हामी व्यापक छलफल गर्छौं तर पहिचान र ऐतिहासिकतालाई जोड्ने गरी निष्कर्शमा पुग्छौं ।’ लिम्बुले विगतमा भएका बहसका आधारमा सबैको पहिचान झल्कने, ऐतिहासिक वा भौगोलिक र सांंस्कृतिक नामहरुमा छलफल गरी सहमति खोज्नु राम्रो हुने बताउँदै यद्यपी पहिचान समेट्ने कोचिला, लिम्बुवान र किराँतको बिषय जवरदस्त रुपमा प्रस्तुत हुने उनकाे बुझाई छ ।
राजधानीको विषयमा अधिकांश नेताहरुको धारणा विराटनगर हुनुपर्नेमा करिव सहमति नै देखिएको छ । यद्यपी निर्वाचनको समयमा आ–आफ्नो अनुकुलतामा प्रतिवद्धता जाहेर गरेका कारण यहि हुनुपर्छ भन्ने दावी मुख्यमन्त्रिका मुख्य दावेदार शेरधन राईले गरेनन्र । उनले भने‘अहिले अस्थायी राजधानी सरकारले तोक्ने हो जहाँ तोक्दा पनि हुन्छ पछि दुई तिहाईले निर्णय गरेपछि त्यहि स्थान वा अन्यत्र जे पनि हुन सक्छ विवाद गरिरहनु पर्ने आवश्यकता छैन ।’ अर्का मुख्यमन्त्रिका दावेदर भीम आचार्यले पनि राजधानीको विषयमा उपयुक्त निर्णय लिइने तर अहिले नै यसो हुनुपर्छ भनेर नभन्ने बताए । प्रदेश नम्वर १ मा प्रत्यक्ष तर्फबाट ५६ जना सांसद निर्वाचित भर्इसकेका छन् भने समानुपातिक तर्फबाट ३७ जना निर्वाचित हुने क्रममा छन् । प्रदेश संसद ९३ सदस्यिय हुने व्यवस्था छ । -समाचार दैनिकबाट