७ पुस, काठमाडौं ।
राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेशमा सहमति जुटाउन प्रधानमन्त्रीले बोलाएको प्रमुख पाँच दलको बैठक निष्कर्ष बिहिन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख पाँच दलका शीर्ष नेताको बैठकमा राष्ट्रपति कार्यालयमा रहेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनसम्बन्धी विषयमा छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष सिफारिस अध्यादेशमा प्रमाणिकरणमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर, एमाले र माओवादी सम्मिलित वाम गठबन्धनले भने बहुमतीय मतप्रणली हुनुपर्ने अडान राखेको थियो । बैठकमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एकल संक्रमणीय मतप्रणालीको विरोध गर्नुभयो ।
बैठकमा एमाले र माओवादीका नेताहरुले देउवालाई नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गरेका छन् । तर, कांग्रेस नेताहरुले भने राष्ट्रियसभा गठन नभएसम्म प्रतिनिधिसभाले पूर्णता नपाउने भन्दै राष्ट्रपतिले तत्काल अध्यादेश जारी गर्नु पर्नेमा जोड दिएका थिए ।
बैठकपछि सन्चारकर्मसँग कुरा गर्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा रहेको जानकारी दिनुभयो ।
वरिष्ठ नेता पौडेलले भन्नुभयो, “विवाद कायमै छ, हामीले हाम्रो धारणा राख्यौँ, राष्ट्रपति कार्यालयमा सरकारले पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी भएपछि मात्र प्रतिनिधिसभाको निर्वाचन पूर्णरुपमा सम्पन्न हुने र नयाँ सरकार गठनको बाटो खुल्छ ।”
नेकपा (एमाले) बाहेक अरु पार्टी एकल संक्रमणीय प्रणालीमा सहमत भएको जानकारी गराउँदै उहाँले वर्तमान सरकारले सत्ता हस्तान्तरण गर्ने बाटो खोल्न काँग्रेसले बैठकमा आग्रह गरेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेशमा सहमतिका लागि आग्रह गर्नुभएको र त्यसमा सहमति जुट्न नसकेको जानकारी दिनुभयो ।
यसबाहेक बैठकमा अध्यादेशमा रहेको निर्वाचन प्रणाली वर्तमान संविधानअनुसार लागू गर्न देखिएका चुनौती र निर्वाचनको जनादेशपछि नयाँ सरकार गठनका बारेमा पनि बृहतरुपमा छलफल भएको नेता श्रेष्ठले बताउनुभयो ।
पाँच दलको बैठकअघि प्रमुख सत्तारुढ दल काँग्रेस, राजपा नेपाल र संघीय समाजवादी फोरमको संयुक्त बैठक बसेर तीन दलले एकल संक्रमणीय निर्वाचन प्रणालीमा एकमत जनाएको काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।
बैठकमा काँग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राजपा अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायत उपस्थित हुनुहुन्थ्यो ।