काठमाडौं ,पुष ६।
ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा पूर्व डिआइजी नवराज सिलवालले आफुविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा कीर्तेको जाहेरी दर्ता राजनीतिक प्रतिशोधमात्र भएको आरोप लगाउनु भएको छ ।
सर्वोच्च अदालतले कीर्ते गरेको बिषयमा अनुसन्धान गरी दोषी देखिएका उपर कारबाही चलाउनू भनी गरेको आदेश अनुसार परिसरमा जाहेरी दर्ता भएपछि उहाँले आफूले अनलाइनहरुमा आएको फायलमात्र पेश गरेको बताउदै आफुमाथि रिस साधिएको बताउनु भयो ।
आज एक अनलाईसँग कुरा गर्दै सिलवालले भन्नुभयो , अनलाइनमा आएको कामसु फायल मेरो वकिलले अदालतमा बुझाएको मात्र हो। कसरी यत्रो फाइल बाहिरियो? कि त नवराज सिलवालले चोरेको भन्ने प्रमाणित गर्नु पर्यो ।’
सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहित सात न्यायाधीशको बृहत् पूर्ण इजलासले सिलवालको मुद्दामा गरेको फैसलाको पूर्ण पाठ आएपछि जाहेरी दर्ता गरेको हो।
पूर्ण पाठमा नवराज सिलवालले नै ’अनुचित माध्यैमबाट कार्यसम्पादन मूल्याङ्कनको अङ्क प्राप्त गरी तोडमोड गरी आफूले बढी अङ्क प्राप्त गरेको भनी इजलासलाई भ्रम पार्ने प्रयास गरेको देखिएको’ उल्लेख छ।
सिलवालले आफू पूर्व प्रहरी समेत भएकाले प्राकृतिक सिद्धान्त अनुसार प्रहरी एक निकायले नै अनुसन्धान गर्न नमिल्ने बताउनु भयो ।