५ पुस, काठमाडौं ।
पर्साको वीरगञ्ज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा आगलागीमा परी दुइ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् ।।
मृत्यु हुनेमा आगो नियन्त्रणका लागि खटिएका अग्निनियन्त्रक यादवप्रसाद अधिकारी र हवलदार मधुसुदन मिश्र रहेका छन् ।
आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ । दमकल जल्दा त्यसमा रहेका फायरम्यान सविन नेपाल घाइते भएका छन् ।
बिहान ६ बजेदेखि लागेको आगो करिब ८ घण्टापछि नियन्त्रणमा आएको थियो ।
सुरक्षाकर्मी र स्थानीयले एस्टिङ्गुइसर (आगो निभाउने उपकरण) र भिजेको बोराको सहायताले आगो निभाईको थियो ।
स्थानीय केनालाल राउतका अनुसार सुरक्षाकर्मी र स्थानीय आगो बल्न कम भएपछि ग्यास लिक भएको पाइपसम्म पुगेर उनिहरले एस्टिङ्गुइसर स्प्रे गरेर आगो निभाएको वताईएको छ ।
यसैबीच उद्योगमा भएको आगलागी सम्बन्धी छानविन गर्न पाँच सदस्यीय समिति गठन भएको छ ।
एलपी ग्यास उद्योग संघले छानविन समिति गठन गरेको हो । समितिमा संघका निवर्तमान अध्यक्ष शिव घिमिरे, कुश मल्ली, शंकर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र लक्ष्मी महर्जन रहेका छन् ।
छानविन समितिलाई पाँच दिनको म्याद दिइए जनाईएको छ ।
१० करोड भन्दा बढी लगानीमा सुरु भएको उद्योगमा ग्यास बुलेटबाट आगजनी सुरु भएको अनुमान गरिएको छ ।
४८ वर्षको पछि ग्यास उद्योगमा ठूलो आगलागी भएको यो पहिलो घटना हो । आगलागीमा एक दमकलसहित दुई जनाको मृत्यु भएको छ । क्षतिको थप विवरण भने आइनपुगेको जनाईएको छ । उद्योगमा विहान ६ बजेतिर आगलागी भएको थियो ।