३ पुस,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा युवा नेता गगन कुमार थापालाई कारवाहीको तयारी गरेका छन् ।
निर्वाचनको परिणामलाई लिएर थापाले संचारमाध्यमहरुमा दिएको अभिव्यक्तिबाट असन्तुष्ट बनेको देउवाले कारवाहीको गरेको बताइएको छ । थापाले देउवाका कारण पार्टीले हार ब्यहोरेको भन्दै राजिनामा दिनुपर्ने बताउँदै आएका छन् ।
थापाले संचारमाध्यममा बोलेको पार्टीको अनुशासनभन्दा बाहिर भएको भन्दै देउवा पक्षले कारवाहीको लागि दवाव दिँदै आएका छन् । “गगनजीले पार्टी अनुशासनभन्दा बाहिर गएर बोलिरहनु भएको छ, यसबारे सभापति सन्तुष्ट हुुनुहुन्न । के र कसका कारण चुनाव हारियो भन्ने कुरा पार्टीका बैठकमा समिक्षा गर्ने विषय हुन् तर उहाँले जथाभावि बोलिरहनु भएको छ, त्यसबारे पनि छलफल भएको छ” एक नेताले भने । हालै बसेको देउवा पक्षका नेताहरुको भेलामा थापालाई कारवाही गर्नुपर्ने आवाज अधिकांश नेताहरुले उठाएको बताइएको छ । भेलाले चुनावको समिक्षा समेत गरेको छ ।
यसअघि खानेपानी तथा सरसफाईमन्त्री समेत रहेका युवा नेता महेन्द्र यादवले पनि गगनका अभिव्यक्ति ठिक नभएको बताएका थिए । “गगनको बारेमा सोच्नुपर्ने बेला आएको छ, आफ्नो स्वार्थ पूरा गर्न जेपनि गर्ने गरेको तर पार्टीभित्र अनुशासन उलंघन भएको छ” मन्त्री यादवले भने ।
पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले गगनले आफ्नो फाइदाको लागि पार्टी, विचार र सिद्धान्त नबोक्ने गरेको आरोप लगाएका छन् ।