पोखरा , पुस ३ ।
करोडौं रुपैयाँ ठगेर ४ जना भारतीय व्यापारी पोखराबाट फरार भएका छन् । बजार मूल्य भन्दा झण्डै आधा रकममा सामान पाइने लोभमा अग्रिम पैसा बुझाएका ग्राहकलाई ठगेर उनीहरु फरार भएका हुन् ।
फरार हुनेमा भारत तामिलनाडु राज्यको त्रिचलापतली उरहिउर थानाका ५३ वर्षीय मथु रावन, तन्जाउर प्यारावरणी थानाका ५६ वर्षीय राजेन्द्र शेठ्ठी, तन्जाउ त्रिचित्मट्रप्लम थानाका ३५ वर्षीय मूर्खानन्दम तेवर र ४५ वर्षीय मथु उडियार छन् ।
उनीहरुले मंसिरको पहिलो हप्ता पोखराको सिर्जना चोकमा सटर भाडामा लिई अक्सिजन ट्ेरडर्स सञ्चालनमा ल्याएर बजार मूल्य भन्दा ४५ प्रतिशत छुटमा विद्युतीय, फर्निचर तथा किचनका सामग्री बिक्रीमा राखेका थिए ।
ग्राहकले पुरै पैसा बुझाएर अग्रिम बुकिङ गरेको १५ दिनमा सामान पाउने बताइएपछि सस्तोमा सामान पाइने लोभमा ग्राहकले ५ सयदेखि ५ लाख रुपैयाँसम्म पैसा बुझाएर बुकिङ गरेका थिए ।
आज सामान बुझ्ने समय दिइएको भएपनि सामान दिन केही दिन ढिला हुने सूचना सटरमा टागेर बन्द गरिएको छ ।
आइतबार बिदा भनेर बन्द गरिएको पसल आज बिहान नखुलेपछि पैसा बुझाएका ग्राहकले आफू ठगिएको बताएका छन् ।
त्यहाँका ६ कर्मचारीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । कर्मचारीहरुले पनि आफुहरु ठगिएको प्रहरीलाई बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले बताउनु भयो ।
ठगिनेमा चिकित्सक, कर्मचारी, संचारकर्मीदेखि पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसम्म छन् ।
मंसिर २० मा प्रहरीले ४ व्यापारीलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । ३ दिनपछि ग्राहक नै आएर उनीहरुलाई छुटाएको प्रहरी नायव उपरीक्षक खत्रीले बताउनु भयो ।