भक्तपुर , ३ पुस ।
भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग भएपछि यसलाई रोक्न एम्बुलेन्स चालक संघ नै लागेको छ।
बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाहको भोज र पार्टीमा समेत मान्छे ओसार्न र विभिन्न सामग्री बोक्न थालेपछि यसलाई रोक्न एम्बुलेन्स चलाउने सम्बन्धित संस्थालाई पत्राचार गरेको एम्बुलेन्स चालक संघका अध्यक्ष बुद्घकृष्णबाग श्रेष्ठले बताउनु भयो ।
पछिल्लो समय बिरामी बोक्ने एम्बुलेन्समा अस्पतालले आफ्ना कर्मचारी बोक्ने र आफन्तलाई पार्टीमा लैजान थालेपछि यसको चौतर्फी विरोध भएको हो।
संघको चौथो वार्षिक साधारणसभामा एम्बुलेन्स दुरुपयोग रोक्न आग्रह गरिएको छ। केही संस्थाले एम्बुलेन्स दुरुपयोग रोक्न अझै पनि ध्यान नदिएको उल्लेख गर्दै उनले त्यसमा संस्था र चालकको संलग्नता एवं चालकको लापरबाही रहेको पाइएपछि संघले सचेत गराएको बताउनु भयो ।
संघका सचिव सीताराम खिउँजुले एम्बुलेन्स उपयोग सम्बन्धमा चालक जानकार हुनुपर्ने भन्दै एम्बुलेन्स दुरुपयोगलाई रोक्न सचेत गराएको बताउनु भयो ।
आगामी दिनमा चालकलाई क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने जानकारी दिंदै सचिव खिउँजुले आकस्मिक सेवाका दमकल, शव बाहन, ट्राफिक प्रहरी समेतको समन्वयमा सेवालाई प्रभावकारी, सहज र सरल बनाइने बताउनु भयो ।
भक्तपुर जिल्लाका करिब ४० प्रतिशत बिरामी उपचारका लागि काठमाडौँ र १५ प्रतिशत बिरामी काभ्रे गरेका छन्।