काठमाडौं , ३ पुस ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रियसभा गठन नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने दाबी गर्नुभएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री थापाले प्रधानमन्त्री देउवाले चाहेर पनि अहिले सरकार छोड्न नपाउने जिकिर गर्नुभयो ।
वर्तमान सरकार चुनावी सरकार भएकाले राष्ट्रियसभाको निर्वाचन नभएसम्म काग्रेस सरकारबाट नबाहिरिने उहाँको भनाई छ ।
काग्रेस नेता समेत रहनुभएका मन्त्री थापाले आफ्नो पार्टीले निर्वाचन सम्पन्न गरेरमात्रै सरकार छाड्ने भन्दै अहिले नै निर्वाचन आयोगले पनि पूर्ण मतपरिणाम सार्वजनिक गरिनसकेको अवस्था रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो ,‘देउवाले मलाई धेरै दवाव आयो भनेर पद छोड्छु भन्नपाउनुहुन्न, ओली र प्रचण्डलाई पनि आउँछु भन्ने छुट छैन।’
थापाले ओली र प्रचण्डले अहिल्यै कुर्सी छोड भनेर देउवाको राजिनामा माग्नु दम्भ र उत्तेजनाको अभिव्यत्ति भएकोसमेत आरोप लगाउनुभयो ।
सरकारले दुई महिना अघि नै राष्ट्रिय सभा सम्बन्धी अध्यायदेश राष्ट्रपतिसमक्ष पठाएको भन्दै अहिलेसम्म नआउनु दुःखद् भएको उहाँले बताउनु भयो । मन्त्री थापाले भन्नुभयो , राष्ट्रपतिसँग अर्को विकल्प छैन, अध्यादेश स्विकृत गर्नैपर्छ, सरकारसँग पनिअर्को विकल्प छैन।’