काठमाडौ , १ पुस ।
बर्दिया राष्ट्रिय निकुञ्जमा आजबाट क्यामेरा ट्रयापिङ्ग प्रविधिमार्फत बाघ गणना गरिने भएको छ ।
बर्दिया निकुञ्ज सहित देशैभरीका निकुञ्जमा रहेका बाघको एकिन संख्या पत्ता लगाउने उद्देश्यले गण्ना गर्न लागीएको बर्दिया निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिनुभयो ।
क्यामेरा ट्रयापिङ्ग प्रविधिबाट बाघ गणना गर्नुको साथै बाघको आहारा प्रजातिको समेत गणना गरिने निकुञ्जले जनाएको छ ।
यसअघि सन् २००० मा बर्दिया निकुञ्जमा ४० वटा बाघ रहेकोमा द्वन्द्वकालका बेला चोरी शिकारका कारण घटेर सन् २००८ को बाघ गणनामा १८ ओटा पुगेको थियो । त्यसपछि सन् २०१० मा भएको अनुगमनका क्रममा बाघको संख्या बढेर २७ पुगेको थियो ।
यस्तै सन् २०१२ मा गरिएको बाघ गणनामा बाघको संख्या बढेर ३७ वटा पुगेको थियो भने सन् २०१३ मा गरिएको अनुगमनले बर्दिया निकुञ्जभित्र ५० वटा वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।
त्यसैगरी गएको वर्ष बर्दिया निकुञ्जले आन्तरिक जानकारीका लागि गरेको बाघ अनुगमनबाट ६२ वटा वयस्क बाघ रहेको उल्लेख गरेको छ ।