प्रचण्ड नेतृत्वको माओवादी केन्द्र यस पटकको निर्वाचनमा मत परिणामको हिशाबले संख्यामा प्रत्यक्ष तर्फ गठबन्धनका कारण ३६ सिटमा विजयी भए पनि समानुपातिकमा उसको हैसियत २०७० सालको भन्दा कमजोर देखिएको छ ।
७० सालमा बैद्य अलग रहेको , धादली भएको जस्ता विषय देखाएर चुनाव गणना बहिष्कार गर्दै पुन सदनमा फर्किएको माओवादी अहिले बाहिर गठबन्धन बनाएर र भित्र सरकारमा बसेर चुनाव गराउदा पनि ओरालो लाग्नुले उसको लोकप्रियतामा कमी आएको स्पष्ट भएको छ । ७० सालमा ९० लाख खसेको मध्य १७ प्रतिशत बढी अर्थात १६ लाख भन्दा धेरै मत ल्याए पनि अहिले त्यो स्थिति देखिएको छैन । अहिले गणना अन्तिम चरणमा पुग्दा उसले साढे ११ लाख जति मत ल्याएको छ । जुन अहिले खसेको एक करोड ५ लाख मतका हिशाबले हेर्दा १० प्रतिशत प्लस मात्रै हुन्छ ।
अब गनिसक्दा उसको १२ लाख भन्दा केही माथि जाने या त्यसै आसपास सीमित हुने देखिन्छ । यसरी हेर्दा माओवादी थप कमजोर भएको छ जनमतका हिशाबले । तर अब पार्टी एकता गरेर एमालेसगँ मिले पछि भने यो अर्के विषय बन्ने छ ।
अझ काठमाण्डौंको ६ लाख मतमा माओवादीले रवीन्द्र मिश्रको भन्दा पनि आधा जति कम मत ३० हजार ल्याएको छ । रवीन्द्र मिश्रको पार्टी विवेकशील साझाले ५७ हजार ल्याएको छ । माओवादीका उम्मेद्धार पनि काठमाण्डौंमा सबै पराजीत भएका छन् । १ बाट अनील शर्मा, ६ बाट झक्कु प्रसाद सुवेदी र १० बाट हितमान शाक्य ।
आखिर काठमाण्डौं किन यति धेरै माओवादी प्रति नकारात्मक देखियो ? बाबुराम भट्टराईको सडक विस्तार पछि माओवादीले काठमाण्डौंमा भोट गुमाएको आकंलन गर्ने गरीन्छ ।