२६ मंसिर
काठमाडौँ । संखुवासभा जिल्लामा गरेको सेवाग्राही सर्वेक्षणमा ६३ प्रतिशत जनताले नागरिक बडापत्रका विषयमा केही थाहा नभएको बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय लगायतमा सेवा लिन आएकाहरुसँग गरेको सर्वेक्षणका क्रममा यस्तो परिणाम आएको हो ।
कार्यालयले नागरिक बडापत्र, सेवा प्रवाहको दस्तुर तथा समय लगायत सार्वजनिक गर्नुपर्ने सूचना प्रवाहमा कमजोरी गरेको देखिएको छ ।
देखाउनकै लागि मात्र नागरिक बडापत्र राख्ने, मेटिन लाग्दा पनि परिवर्तन नगर्ने तथा पढ्न नजान्नेका लागि नागरिक बडापत्रमा उल्लेख भएका विषय बुझाउने कुनै तरिका नआप्नएकोे छ ।
जिल्ला कार्यालयमा सेवा लिन आएका ५४ सेवाग्राहीमा गरिएको सर्वेक्षणमा तिनले सेवाको दस्तुर र सेवा प्राप्त गर्न लाग्ने समयका विषयमा केही थाहा नभएको बताए ।
सूचनाको हकका विषयमा ६१ प्रतिशतले थाहा नभएको जानकारी गराए । ५४ प्रतिशत मानिस सरकारी कार्यालयको सेवाबाट सन्तुष्ट र ४६ प्रतिशत असन्तुष्ट भएको सर्वेक्षण फाराममा छ ।
१५ प्रतिशतले सेवा लिँदा कार्यालयको भौचर नकाटी अतिरिक्त रकम तिर्नु परेको उल्लेख गरेका छन् ।