काठमाडौं, मंसिर २१ ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह आफ्नै श्रीमती दूर्गा पौडेललाई भोट हाल्न गएनन् ।
प्यूठानमा वाम गठबन्धनकी उम्मेदवार दूर्गालाई भोट माग्न भने गएका थिए ।
लामो विवादपछि प्यूठानमा जनमोर्चाले माओवादी र एमालेको साथ पायो । सुरुमा मोहनविक्रम सिंह उम्मेदवार बने मात्रै समर्थन गर्ने अडान लिएका एमाले र माओवादीले अन्तिम समयमा सिंहकी श्रीमती दूर्गालाई समर्थन गरेका हुन् ।
श्रीमती नै उम्मेदवार भए पनि अर्धभूमिगत रहेका मोहनविक्रम सिंह श्रीमतीलाई जिताउन कार्यकर्ता प्रशिक्षण र घरदैलो अभियानमा सहभागी भएर श्रीमतीको लागि भोट माग्न प्यूठान गए । तर आज भोट दिन भने गएनन् । उनी मतदानको दिन काठमाडौंको बनस्थलीमा रहेको निवासमा बसेर देशैभरीको चुनवी गतिविधि हेरिरहेको जनाईएके छ ।
सिंह पहिलो पटक विक्रम संवत २०१५ मा भएको संसदीय चुनावमा तत्कालीन क्षेत्र नम्बर ८५ प्यूठानबाट नेपाल कम्युनिष्ट पार्टीबाट सांसदका उम्मेदवार थिए । त्यसबेला त्यतिबेला एक हजार २ सय मत अन्तरले उनी पराजित भए । सिंहको मतदाता नामावली झिमरुक गाउँपालिकाको बाल शिक्षा उच्च मावि ओखरकोटमा रहेको छ ।