२० मंसिर,सल्यान । चुनावको केही घण्टामात्रै बाँकी छन् । मौन अवधि भनिएपनि पार्टीका नेता–कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिताविरुद्ध गतिविधि गरिहेका छन् ।
जिल्लामा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनका प्रदेश (क) का उम्मेदवार गुलावजंग शाहले दिउँसै भोज भतेरको आयोजना गरेका छन् ।
बुधबार दिउँसो वनगाड कुविन्डे नगरपालिकामा आयोजना गरिएको भोजमा एमाले–माओवादी केन्द्रका नेताहरु सहभागि भएका छन् । सामुहिक भेलाबारे बुझ्न गएको प्रहरीलाई आन्तरिक मामला भन्दै फर्काइएको छ ।
नेपाल प्रहरीका अधिकृतबाट केही समयअघि मात्र रिटार्य भएका शाहले बुथ कब्जाको षड्यन्त्र गरेको माओवादी केन्द्र सल्यानले बताएको छ ।
शाहले जनयुद्धको बेला आफ्नै क्षेत्रका धेरै जनतालाई सुराकी गरेर दुःख दिएको भन्दै एमालेकै समर्थक तथा शुभचिन्तकहरुले मन पराएका छैनन् । पैसा र पावरका आधारमा केन्द्र पार्टीसँग टिकट लिएको भन्दै एमाले सल्यानको धेरै नेताहरु असन्तुष्ट छन् ।
अहिलेको वनगाड कुबेन्डे नगरपालिकाको घार्झिपिपलमा शाहकै सुराकीमा तत्कालिन सुरक्षाकर्मीले आगजनी, हत्यालगायतका घटना भएका थिए । जनयुद्धकालमा एमालेका समर्थकहरुले पनि माओवादीलाई खाना खुवाएकै कारण यातना पाएको बताउँदै अहिले शाहलाई भोट नदिने बताउँन थालेका छन् । उनीहरु आफूहरु एमाले नै भएको तर गुलावजंगलाई भोट नदिने बताउँदै आएका छन् ।
माओवादीलाई खान खुवाएको अारोपमा शाहले नै सुराकीमा उनकै गाउँका साथै जिल्लामा एमालेका तीन दर्जन स्थानीय नेताहरुले यातना-अागजनी जस्ता घटनाबाट पीडित छन् । उनकै गाउँका एक मतदाताले भने,’नाममात्रै गुलाब हो नी, हिजोका दिनमा काम त काँडे जस्तै गरेनी, हामीले किन भोट दिने ?’
यसैबीच उम्मेदवार शाहकै निर्देशनमा मंगलबार राति माओवादी केन्द्रका तीन स्थानीय नेतामाथि सांघातिक अाक्रमण भएको छ । जीवनसिंह ठकुरी,नरेन्द्र सिंह र पर्मिललगायत अाधा दर्जन माओवादी केन्द्रका स्थानीय कार्यकर्ता घाइते छन् ।