काठमाडौं । चुनाव प्रचारप्रसारको समय केही घण्टापछि सकिँदैछ । चुनाव प्रचारकै क्रममा बम विस्फोटमा परी गम्भीर घाइते भएर अस्पतालमा उपचार गराइरहेका नेपाली काँग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीले अस्पतालको बेडबाटै मतदातालाई पत्र पठाएका छन् । रातिबाट मौन अवधि सुरु हुने भएकाले यो प्रचार स्वरुप मतदातालाई सम्बोधन गरिएको अन्तिम पत्र हुनेछ ।
महाराजगञ्जस्थित शिक्षण अस्पतालको शैयाबाटै कार्कीले शान्ति, समृद्धि, लोकतन्त्रको संरक्षण, संविधानको कार्यान्वयन र विकासको लागि नेपाली काँग्रेसलाई मत दिन अपिल गरेका छन् ।
उदयपुर क्षेत्र नं २ बाट नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार कार्कीले नेपाली जनताले दोस्रो संविधान सभाको निर्वाचनमा दिएको जनादेशलाई शिरोपर गरी संविधान निर्माणको कार्य सफल गराएको उल्लेख गर्दै पार्टीले अगाडि सारेको समृद्धिको अभियानलाई साकार पार्न र निर्वाचन क्षेत्रमा सडक, खानेपानी, सिँचाई, अस्पताल, शिक्षा लगायतका विकासका पूर्वाधारहरु पु¥याउन पार्टीले यसपटक पनि उम्मेदवार बनाएकोले सो जिम्मेवारी निर्वाचनमा विजयी भएपछि पूरा गर्ने पत्रमा उल्लेख छ ।
मंसिर १३ गते उदयपुरको गढी गाउँपालिका–६ मा काकीलाई लक्षित गरी प्रहार गरेको बम विष्फोटमा परी घाइते भएका थिए । उनको खुट्टामा गहिरो चोट लागेको छ । उपचारमा संलग्न डाक्टर रोहित पोख्रेलका अनुसार कार्कीको दाहिने खुट्टाको नलीहडडी र गोडा भाँचिएको छ । छाला जलेको छ । देब्रे खुट्टाको कुर्कुच्चा भाँचिएको छ । दायाँ हातमा चोट लागेको छ । रगत कम छ र क्रिटिकल टिमले हेरिरहेको छ ।
आफूमाथि बम आक्रमण भएका कारण मतदाताको घरदैलोमा पुग्न नसकेको बताउँदै उम्मेदवार कार्कीले चुनावमा रुखमा मतदान गरी आफू र नेपाली काँग्रेसलाई जिताउन समेत मतदातासँग अनुरोध गरेका छन् ।
त्यसैगरी उम्मेदवार कार्कीले जिल्ला नेताहरुले र आफूप्रति माया गर्ने सबैले निर्वाचन अभियानलाई सुचारु गर्नुभएकोमा आभार व्यक्त गर्दै निर्वाचनका दिन र मतगणनासम्म सो उत्साह र सक्रियता जारी राख्ने विश्वास समेत व्यक्त गरे । उनले आफ्नो क्षेत्रका सबै गाउँ र नगरका बासिन्दाहरुको आवश्यकता र आकांक्षाका बारेमा आफूलाई राम्रो जानकारी भएको उल्लेख गर्दै जनताका समस्याको समाधान र विकासको चाहनालाई अब आउने नेपाली कांग्रेसको सरकारले पूरा गर्ने विश्वास पत्रमा दिलाएका छन् ।