काठमाण्डौ , १८ मंसिर ।
काठमाडौंको नारायणस्थानस्थित चपली हाइटमा अज्ञात समुहले बम प्रहार गर्दा घाईते भएका काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार गगन थापा हस्पिटलबाट डिस्चार्ज भएका छन् ।
पिठ्यु र टाउकोमा चोट लागेका उम्मेदवार थापा भने एक्सरे लगायत थप परीक्षण पछि घर फर्किएका हुन् ।
घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक, दुई जनाको गम्भीर र बाँकी सात जनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । महाराजगञ्जस्थित शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख प्रा. डा. प्रतापनारायण प्रसादका अनुसार अन्य १० जना घाइतेलाई इमर्जेन्सीमा भर्ना गरिएको छ ।
अस्पतालबाट डिस्चार्ज हुदै नेता थापाले हिंसात्मक घटनाबाट बिचलित नहुन आग्रह गर्नुभएको छ । थापाको घरदैलो कार्यक्रमलाई लक्षित गरेर बम विस्फोट भएको थियो ।
यसैबीच गृहमन्त्रालयले बम विस्फोटका घटनालाई सामान्य रुपमा लिदै सुरक्षा व्यवस्था बलियो रहेको दावी गरेको छ ।
यसैबीच थापालाई लक्षित गरी बम विस्फोट गराएका आशंकामा प्रहरीले ४० जनालाई गिरफ्तार गरेको छ ।
प्रहरीका अनुसार ४० जनामध्ये १० जना नेपाली काँग्रेसका नेता–कार्यकर्ता हुन् । उनीहरुलाई अनुसन्धानको क्रममा गिरफ्तार गरिएको प्रहरीले बताएको छ ।
बम ‘रिमोट कन्ट्रोल’ बाट विष्फोट गराइएको आशंका प्रहरीले गरेको छ । थप अनुसन्धान भइरहेको छ ।
चुनावी घरदैलो अभियान अन्तरगत पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापालाई लक्षित गरी सोमबार दिउँसो काठमाडौंको चपलीमा बम विस्फोट गराइएको थियो । विस्फोटबाट सामान्य घाइते थापा उपचारपछी डिस्चार्ज भएका छन् भने अन्य घाइतेको उपचार भइरहेको छ ।
