सर्लाही, मंसिर १८ ।
सर्लाहीको कर्मैया र मंलंगवामा आज बिहान बम विष्फोट भएको छ । कर्मैयाको पुतली चौकबाट करिव ५ किलोमिटर दक्षिण गोडारी खोला नजिक बाटो छेउमा प्रेसर कुकर बम विष्फोट भएको हो ।
बिहान ७ बजेतिर ठुलो आवाजमा बम विष्फोट हुनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल आसपास सानो प्रेसर कुकर र बम बनाउन प्रयोग हुने विद्युतीय उपकरणका टुक्रा छरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
विष्फोटबाट मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ । बम राख्ने व्यक्तिको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिनुभयो ।
यस्तै सदरमुकाम मलंगवास्थित एक स्वतन्त्र उम्मेदवारको घरमा पनि बम विष्फोट भएको छ ।
क्षेत्र नं २ की स्वतन्त्र उम्मेदवार उर्फ राधा मौसीको घरमा पार्किङ गरेर राखिएको एच पी १९ सी ९९७३ नम्वरको गाडीभित्र बम विष्फोट भएको हो ।
बिस्फोटबाट मानवीय क्षति नभएको डिएसपी थापाले बताउनु भयो । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।